रामकुमार श्रेष्ठ
नवलपुर, २१ बैशाख । पूर्वी नवलपरासीमा जँगली च्याउ खाँदा ७ जना विरामी परेका छन् । जँगल गएर च्याउ ल्याएर खाँदा विनयी त्रिवेणी गाउँपालिका ४ सानो सिद्रेका एकै परिवारका ३ जना सहित ७ जना विरामी परेको विनयी त्रिवेणी ४ का वडा अध्यक्ष गोपालप्रसाद अधिकारीले बताउनु भयो ।
७ जना मध्ये ३ जनाको अवस्था सामान्य रहेकोले उपचार पछि घर फर्किएका छन् भने ४ जना गम्भीर विरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादु खाँणका अनुसार विनयी त्रिवेणी गाउँपालिका ४, सानो सिद्रे निवासी १८ बर्षीय पुरुषोत्तम भण्डारी, २३ बर्षीय सुनिता भण्डारी, ११ बर्षीया पुनम भण्डारी र १४ बर्षीय प्रविन रिजाल गम्भीर विरामी भएका हुन् ।
४ जनलााई राति नै मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार पछि थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको छ ।
प्रहरीका अनुसार उनीहरुको अवस्था गम्भीर रहेको छ । लकडाउनका कारण नवलपरासीमा अहिले जँगलमा पाइने च्याउ, निउरो, गिठ्ठा लगायतका तरकारी खोज्न जाने र ल्याएर खाने क्रम बढेको छ ।
रुपन्देहीमा एकै परिवारका सातजना विरामी
रुपन्देहीमा पनि विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी भएका छन् । भैंसी चराउन गएका परिवारका सदस्यले जँगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी भएका हुन् ।
बिरामी हुनेमा गैडहवा गाउँपालिका– ४ मिनमिनवाका १२ वर्षीया अनिशा हरिजन, १४ वर्षीया मनिषा हरिजन, १६ वर्षका रामानन्द हरिजन, १८ वर्षीया लक्ष्मी हरिजन, ३५ वर्षीया सरस्वती हरिजन, ४५ वर्षीय बद्री हरिजन र ७० वर्षीया कैलाशी हरिजन बिरामी परेका छन् ।
शुक्रबार राति च्याउ खाएका उनीहरुमा पेट दुख्ने र वान्ता हुने जस्ता समस्या देखिएपछि उनीहरुलाई भैरहवा स्थित भीम अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।