अर्घाखाँची, २० असोज । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी रातामाटामा सोमबार जीप दुर्घटना हुंदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक सहित अन्य ५ जना घाईते छन् । घाईतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
कपिलवस्तुको कृष्णनगरबाट अर्घाखाँचीको सन्धिखर्क तर्फ जादै गरेको लु १ ज ४३२९ नम्बरको जिप दुर्घटना हुदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जीपमा ८ जना सवार रहेका र ती सबै दशैंका लागि घर फर्कदै गरेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । घटना भएलगत्तै प्रहरी र स्थानियले घाईतेको उद्वार गरेका थिए । घाइतेहरूको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भईरहेको छ ।
दुर्घटनामा अर्घाखाँची ढाकाबाङ्ग घर भई हाल दाङ्ग लमही बस्दै आउनुभएका ५० बर्षिय घनश्याम खनालको सनाखत भएको छ भने एक महिला र एक पुरुषको सनाखत हुन बँकी रहेको अर्घाखाँची प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार दुर्घटनामा जीप चालक कपिलवस्तु बुद्धभूमिका विरेन्द्र श्रेष्ठ, भूमिकास्थान–१०, धनचौरका उमेश रेग्मी, दाङ्ग लमही–५ की अनिता खनाल र बिन्दु खनाल, भूमिकास्थान–१० की सिमा रेग्मी र उनका १ वर्षिया छोरा आदित्य रेग्मी घाईते भएका छन् ।