काठमाडौं । रुपन्देही जिल्ला कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनको पेसी आजका लागि तोकिएको छ ।
उनको पेसी न्यायाधीश नारायण सापकोटाको १० नम्बर इजलासमा परेको छ । चैत २५ गतेदेखि लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।
गत चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो । त्यसअघि लामिछाने रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा छुटेका थिए ।
लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते निवेदन दिएका थिए । उनको निवेदनमा सुनुवाइका लागि आज पेसी तोकिएको अदालत प्रशासनले जनाएको छ । लामिछानेले बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ दाखिला गरेको बताएका छन् ।
साउन १९ पछि लगातार दुई दिन पेशी तोकिए पनि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।