अर्घाखाँची । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीलाई ध्यान, ज्ञान र देवभूमिको रूपमा परिभाषित गर्दै यही भूमि विश्वव्यापी ज्ञानको सुरुवात भएको ठाउँ भएको बताउनुभएको छ ।
अर्घाखाँचीको पाणिनीमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाणिनीको जन्मस्थान अर्घाखाँची भएकोमा कुनै शंका नरहेको प्रष्ट पार्नुभयो ।
‘यो भूमि पावन छ, पुण्य छ, देवभूमि हो । यहाँबाटै ज्ञानको सुरुवात भयो । विश्वका व्याकरणका पिता पाणिनी यही भूमिमा जन्मनुभएको हो । अरु सबै व्याकरणहरूले पाणिनीको सूत्रलाई आधार मानेका छन्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले पाणिनीको योगदान असाधारण रहेको उल्लेख गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको ३ हजार ९ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत प्रयोग भैरहेको बताउनुभयो । ‘पाणिनीको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुवातसँगै संगीत र लयको विकास भयो,’ उहांले भन्नुभयो ।
पाणिनीले मात्र नभई शिव, सिंग ऋषि, पतञ्जली र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको यस भूमिलाई समुचित प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने जिम्मा सरकारले लिने विश्वास दिलाउनुभयो । नेपाल सरकारले यस क्षेत्रको विकासको लागि ध्यान दिएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले धार्मिक र पर्यटकिय स्थलको रूपमा विकास गर्न जोड दिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले पाणिनीको व्याकरणका सूत्रहरू एआईको दुनियाँमा पनि उपयोगी भइरहेको बताउनुभयो । अर्घाखाँचीको पाणिनी तपोभूमिमा पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाणिनी ऋषिले १४ सूत्रबाट प्रतिपादन गरेका सूत्रहरू र व्याकरण अहिलेको आर्टिफिसियय इन्टिलिजेन्ट (एआई) मा पनि बहुउपयोगी भएको बताउनुभयो ।
आज भन्दा झन्डै २५ सय वर्ष पहिले पाणिनी ऋषिले तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको यस पुण्यभूमिको विकासमा नेपाल सरकारले काम गर्ने उहांले बताउनुभयो ।