बुटवल । पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा नेपाल भारत सुरक्षा बैठक सम्पन्न भएको छ ।
सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, सीमा स्तम्भहरुको मर्मत तथा सम्भार, दशगजा क्षेत्रमा हुने अतिक्रमण लगाएतका बिषयमा छलफल गर्दै सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलवीचको डिआईजी स्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको हो ।
बसन्तपुरस्थित लुम्बिनी केबलकारको माथिल्लो स्टेसनमा रहेको कामाख्या मन्दिर परिसरमा भएको बैठकमा सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयले आयोजना गरेको छैठौ समन्वयात्मक बैठकले दशगजा क्षेत्र अतिक्रमण गरी बनाईएका भौतिक संरचनाहरु संयुक्त प्रयासद्वारा हटाउने, दशगजा क्षेत्रको सरसफाई तथा सौन्दर्यकरण गर्ने निर्णय गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बैठकले मानव तस्करी, अपहरण, नक्कली मुद्रा, हातहतियार, गोलिगठ्ठा, लागूऔषध तथा प्रतिबन्धित औषधी लगायत अवैध वन्यजन्तु तस्करी नियन्त्रण, गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने तेस्रो देशका नागरिकहरुको नियन्त्रण तथा रोक लगाउने विषयमा विस्तृत रुपमा छलफल गरी दुई देशका सीमा सुरक्षा अधिकारी बीच समन्वय र सहकार्य बढाउने निर्णय भएको बताइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच संयुक्त अभियान अन्तर्गत दशगजा क्षेत्रमा संयुक्त गस्ती, हेल्प तथा हेल्थ डेस्क संचालन, खेलकुद तथा विविध अभ्यासहरुलाई समेत निरन्तरता दिईने बैठकबाट सहमतिीगरिएको शसस्त्र प्रहरीले जनाएको छ ।
बैठकमा भारततर्फबाट भारतीय सशस्त्र सीमा बलको सेक्टर हेडक्वाटर लखिमपुर खिरीका डिआईजी बी. विक्रमन तथा सेक्टर हेडक्वाटर गोरखपुरका डिआईजी मुन्ना सिंहले आफ्ना भनाई राख्नुभएको थियो ।
यसअघि सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच डिआईजी स्तरीय पाँचौ समन्वयात्मक बैठक भारतको उत्तर प्रदेश स्थित आईसिपी रुपैडियाको बहराईचमा सम्पन्न भएको थियो । यो नेपाल भारत छैठौं समन्वयात्मक बैठक भएको जनाइएको छ ।