काठमाडौं । नेपाली कांग्रेसले संघीय सरकारमा सहभागी १२ जना मन्त्रीहरूसँगको सामूहिक छलफललाई आज पनि निरन्तरता दिएको छ । पार्टीबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीहरूसँग कांग्रेसले छलफल सुरु गरेको हो ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा छलफल सुरु भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । कांग्रेस र एमालेबीच गत असार १७ मा ७ बुँदे सहमति भएर त्यसैको जगमा गएको असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । कांग्रेसले सरकारमा १० मन्त्री र दुई राज्यमन्त्री गरी १२ जनालाई पठाएको छ ।
सरकारका काम परिणाममुखी बनाउन कांग्रेसले मन्त्रीहरूसँग गत भदौदेखि संवाद सुरू गरेको थियो । महिनामा एक वा दुई पटक यस्ता छलफल गर्ने कार्यलाई कांग्रेसले निरन्तरता दिँदै आएको छ । पार्टी पदाधिकारी, संसदीय दल कार्यसमिति र मन्त्रीहरूबीच छलफल गरी सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउन खोजिएको नेपाली कांग्रेसको भनाइ छ ।
मन्त्री र राज्यमन्त्रीहरूसँग कांग्रेसले सरकारमा सहभमगि मन्त्री तथा रज्यमन्त्रीहरुले अहिलेसम्म गरेका कामकाज, कार्यमूलक योजना र पार्टीसँगको समन्वय लगायतका विषयमा छलफल गर्नेछ ।