भैरहवा । रुपन्देही प्रहरीले अबैध लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. ७ सिसवामा लागु औषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छपिया र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कपिलवस्तु कपिलबस्तु नगरपालिका वडा नं. १० जगदिशपुर बस्ने बर्ष ३४ को नागराज सिंह क्षेत्रीलाई पक्राउ गरेको हो ।
प्रहरीले निजले चलाएको लु ४० प ६५१९ न. को मोटरसाईकल चेकजाँच गर्ने क्रममा निज क्षेत्रीको साथबाट लागु औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १० पुरिया तौल ५० ग्राम बरामद गरेको छ ।
पक्राउ परेका क्षेत्रीलाई रुपन्देही जिल्ला अदालतमा पेश गरेकोमा अदालतबाट १० दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बिभिन्न मुद्धाका फरार प्रतिवादी पक्राउ
रुपन्देही जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार विभिन्न मुद्धामा कैद तथा सजाय भई हाल सम्म फरार रहेका दुई जना अभियुक्तलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतका विभिन्न प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरिएको छ ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले मिति २०७४ साल फागरन ३० गतेको फैसला बमोजिम वन मुद्धामा २४ हजार ५०४ रुपैयां जरिवाना फैसला भएका रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ५ बस्ने लेख बहादुर बुढालाई पक्राउ गरेको हो ।
यस्त इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले मिति २०७९ साल बैशाख २६ गतेको फैसला बमोजिम कुटपिट अंगभंग मुद्धामा ६ महिना कैद र ५ हजार जरिवाना फैसला भएका रुपन्देहीको लुम्विनी सांस्कृतिक नगरपालिका वडा नं. २ बस्ने रामचरन लोहार (विश्वकर्मा) लाई पक्राउ गरेको छ ।