बुटवल । इस्कोन बुटवल, हरे कृष्ण मन्दिरले सोमबार श्रीकृष्ण जन्माष्टमी पर्व मनाएको छ ।
सोमवार कृष्णजन्माष्टमीको दिन इस्कोन बुटवलले बुटवल मिलनचोकमा सहभागि भक्तजनहरुलाई भगवान कृष्णको बारेमा जानकारी गराउँदै भगवान् कृष्णको जन्म भएको दिनको सम्झनामा हरे कृतन र सांस्कृतिक कार्यक्रम गरी मनाएको हो । भगवान श्रीकृष्णको जन्म भएको दिनको सम्झना गर्दै हिन्दु धर्मावलम्बीहरूले यो पर्व मनाउने गर्छन् ।
ज्ञान, भक्ति र कर्मयोगका प्रणेता श्रीकृष्णको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । आयोजक संस्था इस्कोन बुटवलका सदस्य भरत कुवंरले श्रीकृष्ण जन्माष्टमीको अवसरमा धर्म, संस्कार र संस्कृतिका बारेमा भक्तजनहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र इस्कोनले युवा युवतीहरुलाई आध्यात्मिक चिन्तन तर्फ आकर्षित गर्ने कार्यक्रम गर्दै आएको बताउनुभयो ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्गमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । मामा कंश लगायतको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । ईस्को बुटवलले श्रीकृष्ण र राधाको बारेमा जानकारी गराउनुका साथै विभिन्न विद्यालय र इस्कोनमा आवद्ध गुरु तथा गुरुआमाहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, यस क्षेत्रका विभिन्न सामाजिक तथा धार्मिक संघ संस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, उद्योगी ब्यवसायी, पत्रकारलगायत भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यस्तै रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका वडा नं. १ ठुटिपिपलमा रहेको मेरिगोल्ड मन्टेश्वरी स्कुलले पनि श्रीकृष्ण जन्माष्टमी पर्व मनाएको छ ।
सोमवार कृष्णजन्माष्टमीको दिन विद्यालयले आफ्ना विद्यार्थीलाई भगवान कृष्णको बारेमा जानकारी गराउँदै भगवान् कृष्णको जन्म भएको दिनको सम्झनामा कार्यक्रम गरी मनाएको हो । विद्यालयकी प्रिन्सिपल बिन्दु खरालले विद्यालयले हरेक वर्ष शैक्षिक क्यालेन्डर अनुसार धर्म, संस्कार र संकृतिका बारेमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम गर्दै आएको बताउनुभयो । उहांले बालबालिकामा पठनपाठन सँगै अतिरिक्त क्रियाकलाप र संस्कृति झल्कने कार्यक्रम गर्दै आएको बताउनुभयो । विद्यालयले कृष्ण र राधाको बारेमा जानकारी दिँदै विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरेको थियो ।