बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
गिरीले मंगलबार नै पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामा पठाएपनि मुख्यमन्त्रीले सपथ लिएपछि मात्र राजीनामाको औपचारिक जानकारी दिने भन्दै राजीनामा सार्वजनिक गर्नुभएको थिएन ।
नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा पठाएपनि स्वीकृत भएको जानकारी आफुले नपाएको बताउनुभयो ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले आफुले दलको नेता पदबाट राजीनामा दिएको बताउनु भयो । मुख्यमन्त्री नियुक्तिबारे पार्टीको कुनै कमिटी बैठकबाट निर्णय नगरी सिधै महासचिव शंकर पोखरेलको ठाडो निर्देशन आएको भन्दै एमालेमा असन्तुष्टि देखिएको छ ।
महासचिव शंकर पोखरेलको जोडबलमा उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेपछि गिरी रुष्ट हुनुभएको छ । सोमबार बिहान मुख्यमन्त्रीमा दावी पेश गर्न जान पत्र तयार हुँदै गर्दा महासचिव पोखरेलले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेललाई फोन गर्दै गिरीको साटो आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय भएको जानकारी गराएपछि गिरीले आफूमाथि घात भएको बताउनुभएको थियो ।
आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय भएपछि गिरीले तत्कालै अध्यक्ष ओलीलाई फोन गरेर दलको नेता हुँदाहुँदै उपनेतालाई मुख्यमन्त्री बनाउनु संसदीय पद्दति विपरीत भएको गुनासो गर्नुभएको थियो । तर ओलीले ‘यसपालीलाई यस्तै भयो’ भनेर टार्नुभएको थियो ।
अध्यक्ष ओलीको उत्तरबाट सन्तुष्ट नभएका गिरी आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न कांग्रेस र एमालेका नेताहरु प्रदेश प्रमुखको कार्यालयमा जाने क्रममा जानू भएन भने आज सपथ लिने कार्यक्रममा पनि गिरी उपस्थित हुनुभएन ।