बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरमा बसको ठक्करबाट आमाछोरा गम्भीर घाइते भएका छन् । शुक्रवार (आज) दिउसो करिव २ बजेतिर तिलोत्तमा नगरपालिका जानकीनगर स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा लु २ ख ६८८८ नं को बसले बाटो क्रस गर्दै गरेका पैदल यात्रीलाई ठक्कर दिंदा आमाछोरा गम्भीर घाइते भएका हुन्।
गुल्मी जिल्ला दरबार गाउपालिका ६ घर भई हाल तिलोत्तमा-२ शंकनगर स्थित डेरा गरी बस्ने ३० बर्षीय रुपा खत्री र उनको छोरा ३ बर्षीय प्रिन्स खत्रीलाई बसले ठक्कर दिदा दुवै जना घाईते भएका हुन्।
घाइते भएकी रुपा खत्रीलाई उपचारको लागि क्रिमसन अस्पताल मणिग्राम लगिएको छ । टाउको र शरिरमा चोटलागेको उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । त्यस्तै टाउकोमा चोट लागेका छोरा प्रिन्सको बुटवल कालिकानगर स्थित चौराहा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप अनुसन्धानका लागि बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।