पाल्पा । तिनाउ खोलामा डुबेर एक जना भारतीय किशोरीको मृत्यु भएको छ । मंगलबार दिउँसो साढे १ बजे पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर एक भारतीय किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
भारतबाट नेपाल घुम्न आएका विद्यार्थीहरूमध्ये २० वर्षीया शाहिस्ता प्रविन फोटो खिच्ने क्रममा अचानक चिप्लिएर खोलामा डुबेकी थिइन् । भारत उत्तरप्रदेश मगहरकाजिपुर घर भई स्थानीय विद्यालयमा अध्ययनरत प्रविनसहितका विद्यार्थीहरु शिक्षकसहित नेपालमा घुम्न आएका थिए ।
प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले किशोरीको उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो । अस्पतालमा पु¥याएपछि चिकित्सकले किशोरीलाई मृत घोषणा गरेका थिए ।