बुटवल । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठनहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले दशैं, दीपावली, छठ र नेपाल संवत पर्वको अवसरमा आईतबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले शुद्धिकरणको बिषयलाई लिएर तालाबन्दी गरेर महासंघको गरिमा नघटाउन आग्रह गर्नुभएको हो ।
शुद्धिकरणको बिषयलाई लिएर ठाउँ ठाउँमा प्रेस चौतारीले तालाबन्दी गरेकोतर्फ संकेत गर्दै संवाद र वार्ताबाट निकासमा जान सकिने अध्यक्ष पोख्रेलले आग्रह गर्नुभयो । ‘सबैको साझा संस्था बनाउने जगका रुपमा शुद्धिकरण गरिएको हो, विजयादशमीको शूभकामना दिदैं म बुटवलबाट भन्छु, तालाबन्दी र निषेधले पत्रकार महासंघको ओझ घट्ने हो’ अध्यक्ष पोखरेलले भन्नुभयो –‘संवाद गरौं, सहकार्य गरौं, विधान र शुद्धिकरण अनुसार नयाँ कोर्षमा अगाडि बढौं ।’ उहांले पत्रकार महासंघ संवादबाटै निकास निकाल्न तयार रहेको बताउँदै सबैको साझा छाता संगठन बनाउने हिसाबले टाउका गनेर हिसाकिताबमा मात्रै सिमित नहुन आग्रह गर्नुभयो ।
‘एउटा संख्या बढि र तल हुँदैमा चुनाव जित्ने र हार्ने अवस्थाको अन्त्य गर्नुपर्छ, शुद्धिकरणले गर्न खोजेको त्यही हो ।’ माथि हुँदैमा चुनाव जित्ने र हार्ने अवस्था हुँदैन’ उहांले भन्नुभयो । उहांले नेपालको पछिल्लो राजनीतिमा समेत सहकार्यको विकास भएकाले नेतृत्वमा कसैलाई पनि निषेध गर्न नहुने बताउनुभयो । विगतमा निषेध गरिएपनि अब त्यसो हुन दिन नहुने उहांको भनाई छ । कोही मिलेर कसैलाई सक्ने नभई सबैलाई समेटेर लैजानका लागि शुद्धिकरण गरिएको बताउदै उहांले पछिल्लो समय सरकार सरकारजस्तो नहुने, संसद संसदजस्तो नभएको बताउँदै अदालत, प्रहरी, कर्मचारी संयन्त्र जताततै प्रश्न उठ्दा पत्रकार महासंघले आफैबाट शुद्धिकरण थालेको बताउनु भयो । ‘शुद्धिकरण मार्फत सुधारको प्रयत्न गरिएको हो’ अध्यक्ष पोख्रेलले भन्नुभयो ।
पत्रकारितामा बुटवल नै राजधानी रहेको बताउँदै त्यसका लागि पूर्वाधार निर्माण गर्ने गरी योजना बनाउन आग्रह गर्दै अध्यक्ष पोखरेलले बुटवल मोफसलमा पत्रकारिताको राजधानीका रुपमा परिचित गराउने गरी नयाँ पुस्तालाई चिनाउने गरी योजनाबद्ध काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘अरुको राजधानी जहाँसुकै होला, मोफसलमा पत्रकारिताको राजधानी बुटवल नै हो’ उहांले भन्नुभयो । उहांले दशैं, तिहार, छठ र नेपाल सम्वत जस्ता पर्वहरुले सञ्चारक्षेत्रको विज्ञापन बजारको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले चाडपर्वहरुमा तडकभडक र विकृतीहरु देखा परेको बताउँदै यसतर्फ सञ्चार क्षेत्रले बहस चलाउनुपर्ने बताउनुभयो । उहांले नेपाली चाडपर्वको आफ्नै खालको मौलिकता रहेको तर, विपन्न समुदायको बारेमा पनि सोच्नुपर्ने समय आएको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले चाडपर्वहरुले सबैलाई एकतामा जोड्नुपर्ने बताउंदै महासंघले रुपन्देहीका सबै सरोकारवालाहरुलाई एकै ठाउँमा राखेर शुभकामना आदान प्रदान गरेको बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्र र प्रदेशका नेतृत्व, रुपन्देहीका पूर्वअध्यक्ष एंव सल्लाहकार, राजनैतिक पार्टीका नेतृत्व, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था, पत्रकार सम्बद्ध संगठनका व्यक्ति र पत्रकारहरुको उपस्थिति रहेको सचिव विनोद परियारले जानकारी दिनुभयो ।
पत्रकार भण्डारीलाई सम्मान
कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीलाई सम्मान गरिएको छ ।
पत्रकार महासंघ रुपन्देहीका पूर्व सहसचिव भण्डारी रुपन्देहीबाटै पत्रकारितामा लागेर हाल अमेरिका स्थित पत्रकारहरुको संस्थाको अध्यक्ष भएकोमा सम्मान गरिएको हो । महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले भण्डारीलाई खादाले सम्मान गर्नुभएको हो ।