काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारत लगिएको छ । राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्समार्फत् भारत लगिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नदेखिएपछि आज बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत् नयाँदिल्ली लगिएको हो । उनको उपचार नयाँदिल्लीको एम्स अस्पतालमा हुनेछ ।
राष्ट्रपति पौडेलसँगै त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक र एक जना नर्स पनि भारत गएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि सोमबार राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्यसदिन उनको बायाँ छातीको तल्लो भागबाट भिडिओ एक्सरेको सहायताले पानी निकाली परीक्षणको लागि पठाइएको थियो ।
इन्फेक्सन नघटेको पाइएपछि उनलाई भारत लगेर उपचार गराउन चिकित्सकहरुले सुझाव दिएका थिए । उनको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस्मा उपचार हुनेछ ।
