बुटवल । बुटवल दीपनगर आम्दा चोकमा वर्षेदेखि खाजा घर चलाएका राजेन्द्र पौडेललाई सधैँ पानीको समस्या हुन्छ । बिहान मोटरबाट तानेको पानीले पुग्दैन । अनि भाडा सफा गर्दा पुराएर गर्नुपरेको छ
उनी जस्तै दीपनगरका भूपेन्द्र खड्काको धारामा पानी नचढेपछि मोटर चलाउनुपर्छ । तर कहिले कहीँ मोटरले पानी नतानेपछि जारको पानी खरिद गरेर प्रयोग गर्न पर्छ । अझै गर्मी महिनामा खानेपानी नआएपछि बाइकमा मिनलचोक तीनकुनेमा रहेको बोरिङ धाराबाट पानी बोक्नु परेको उनले बताए । खड्का र पौडेल जस्ता खानेपानीको समस्या वर्षेदेखि भोग्ने धेरै छन् । दिपनगर, सुख्खानगर क्षेत्रका बासिन्दाका घरमा बर्खामा धमिलो पानी र गर्मीमा निकै कम पानी आएर सास्ती व्योहोर्नु परेको छ ।
खानेपानीको समस्यालाई मुख्यतः एमाले नेताहरूले हरेक निर्वाचनमा एजेन्डा बनाएर लैजाने गरेका छन् । एमालेबाट यो क्षेत्रबाट तीन पटक चुनाव जितेका विष्णु पौडेल र बुटवलका पूर्व मेयर प्रदेश सभा सदस्य पनि भएका भोजप्रसाद श्रेष्ठले बुटवलका यही खानेपानीको लागि राजनीति गर्दे मत माग्दै आएका छन् ।
तर एमाले नेताहरूको ती घोषणा र भाषणबाट स्थानीय आजित भएको राजेन्द्र पौडेलले बताए । उनले भने ६० ।६२ सालदेखि भुस्साको पानीको मुद्दा उठाउँदै आए पनि बिहान यहाँ पानी कम आएर अधिकांस घरमा मोटर चल्दैन त्यो नेताहरूले देख्छन् की नाइँ ।
उनले भने जस्तै २०५२ सालदेखि सुरु भएको झुम्सा खानेपानी आयोजनामा पौडेल र श्रेष्ठले मत मागे पनि सो आयोजना पुराहुने अवस्था अझै छन् । खानेपानी संस्थान बुटवलका प्रमुख मोहन दत्तका अनुसार खानेपानी संस्थान र विभिन्न उपभोक्ता समितिमार्फत दैनिक २ करोड ७५ लाख लिटर पानी वितरण भइरहेको छ । बुटवलमा मात्र दैनिक ३ करोड ५० लाख लिटर खानेपानीको माग छ । अहिलेको अवस्थामा दैनिक ७५ लाख लिटर पानी अभाव छ । विज्ञहरूका अनुसार नियमित थपिँदै जाने आवादीले बर्षेनी १५ लाख लिटरभन्दा बढी खानेपानी माग थपिँदै जान्छ । जति गर्मी बढ्दै गयो, त्यति नै खानेपानीको माग बढ्ने गरेको छ । भुम्साको अलपत्र आयोजना पुरा गर्ने बहाना बनाएर भोट माग्ने तर कहिल्यै पुरा नगर्ने काम नेताहरूबाट भएको भन्दै बुटवलको मिलनचोकका व्यवसायी कृष्ण पाण्डेले आक्रोस पोखे । उनले भने– ‘पटक पटक पानीको विषय उठाउँछन् तर कहिल्यै पुरा गदैनन् ।’
एमालेका नेता पौडेलले हालै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको कार्यक्रममा आयोजना पुरा गर्ने पुन दोहोराएका छन् । उनले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा पत्रकारले सोधेको प्रश्नमा झुम्सा खानेपानी आयोजना काठमाडाको मेलम्ची, कुलेखानी जस्तै ठुलो आयोजना भएकोले केही समय ढिला भए पनि पुरा गर्नेमा आफू प्रतिबद्ध रहेको बताए ।
बुटवल राम फेदीदेखि साढे १३ किलोमिटर टाढा रहेको पाल्पाको तिनाउ गाउँपालिकाको झुम्साबाट ल्याइने उक्त खानेपानी आयोजना सुरुमै पाइप खरिद गर्दा अनियमितता भएको उजुरी परेपछि अलपत्र रहेको छ । ती पाइपहरू अहिले बुटवल देवदह चरङ्गे जाने बाटोमा अलपत्र जस्तै छन् ।
पाँच वर्षमा सम्पन्न गर्ने भन्दै सुरु गरिएको उक्त आयोजना सम्पन्न भएको भए बुटवलमा दैनिक ५० लाख लिटर खानेपानीको अभाव पूर्ति हुन्थ्यो । करोडौँ रुपैयाँ खर्च भइसके पनि खानेपानी संस्थानले खरिद गरेका पाइपमा अहिले खिया लाग्न थालेको छ भने यता एमाले उम्मेदवारहरुले यसैलाई एजेण्डा बनाएर भोट माग्दै हिडेपनि समस्याको समाधान तिर भने ध्यान दिएका छैनन् ।
