न्वारनदेखिको बल लगाएर प्रतिस्पर्धामा उत्रिन मुख्यमन्त्री केसीका आग्रह
बुटवल,२ असोज । ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबारदेखि रुपन्देहीको बुटवलमा लुम्बिनी प्रदेशस्तरीय विभिन्न विधामा छनोट प्रतियोगिता सुरु भएको छ ।
प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा भएको प्रतियोगिताको आइतबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले पोखरामा हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा न्वारनदेखिको बल लगाएर प्रतिस्पर्धामा उत्रिन खेलाडीहरुलाई आग्रह गरे । उनले हरेक दृष्टिकोणबाट उत्कृष्ट रहेको लुम्बिनी प्रदेश खेलकुदको क्षेत्रमा पनि उत्कृष्ट हुने विश्वास ब्यक्त गरे ।
लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसिउद्दिन खाँको सभापतित्वमा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा ओलम्पियन समेत रहेका लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र बहादुर हमाल, प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिब जयप्रकाश भट्टराई लगायतले बोल्ःदै उच्च मनोवलकासाथ प्रतियोगितामा सहभागि भई लुम्बिनी प्रदेशको नाम राख्न खेलाडीहरुलाई आग्रह गरे ।
प्रतियोगिता अन्तरगत पुरुष र महिला फुटबल, महिला भलिबल खेल बुटवल एन्फा एकेडेमीमा असोज २ देखि ४ गतेसम्म, बुद्धिचाल २ र ३ गते बुटवलमा, तेक्वान्दो, ब्याडमिन्टन खेलहरु भैरहवामा, पुरुष÷महिला कबड्डी, लनटेनिस, शारीरिक सुगठन, आर्चरी खेल असोज २ देखि ३ गते रुपन्देहीमा हुने छ । यसैगरी पुरुष भलिबल नवलपरासी तथा सितेरियो कराते कपिलवस्तुमा असोज ४ र ५ गते हुनेछ ।
एथ्लेटिक्स खेल बेलझुन्डी दाङमा, फुलकन्टयाक्ट कराते, टेबलटेनिस, ह्यान्डबल तुल्सीपुर दाङमा असोज ६ र ७ गते हुनेछ । यसैगरी बास्केटबल, बक्सिङ, भारोत्तलन, कुस्ती, उसु, जुडो, सुटिङ, पौडी, जिम्न्यास्टिक, पुरुष र महिला हक्की, साइक्लिङ खेलहरु नेपालगन्ज, बाँकेमा असोज ८, ९ र १० गते हुनेछ ।
त्यस्तै, सेप्राक्ता ताराताल बर्दियामा १० गते, पुरुष र महिला खोखो भुरिगाउँ बर्दियामा १० र ११ गते हुने छ ।
प्रतियोगितामा १२ जिल्लाका २ हजार ६ सय ५२ जना खेलाडीहरु, २ सय अफिसियल र ३ सय स्वयंसेवकहरुको सहभागिता रहने प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए ।
रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, नेपालगन्ज, बर्दिया र रोल्पामा आयोजना गर्ने भनिएको प्रतियोगितामा हेरफेर गरिएको उनले बताए । रोल्पामा ११ र १२ गते हुने भनिएको आइटिएफ तेक्वान्दो खेल रुपन्देहीमा असोज ४ र ५ गते सारिएको उनले बताए । यसैगरी रग्बी खेल गुलरिया, बर्दियामा आयोजनाको तयारी भएकोमा परिवर्तन गरी असोज ११ गते बाँकेमा गरिने उनले बताए । अन्य खेलहरु भने तोकिएको स्थान र समयमा हुने छ ।