काठमाडौं, १३ फागुन । प्रतिनिधिसभाको बैठक आज पनि सूचना टाँसेर स्थगित गरिएको छ ।
एमसिसीबारे सैद्धान्तिक रूपमा छलफल गर्ने कार्यसूचीमा बोलाईएको बैठक हिजो स्थगित गरी आज दिउँसो १ बजेका लागि बोलाइएको थियो । एमसिसीबारे राजनीतिक सहमति हुन नसक्दा यो विषय थप पेचिलो बन्दै गएको छ ।
नेकपा एमालेसँगको छलफल टुंगो नलागेको र सत्ता गठबन्धनमा सहमति नभएको अवस्थामा सरकारले बैठक आइतबारसम्मका लागि स्थगित गर्न सभामुखलाई आग्रह गरेको हो ।
सरकारको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्नि सापकोटासँग छलफल गर्नुभएको थियो । संसद्को अर्को बैठक फागुन १५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) अनुसार सभामुखले प्रतिनिधिसभाको बैठक सार्न वा स्थगित गर्न पाउने कानुनी व्यवस्था छ ।
