काठमाडौं, १ असोज । । दशैं तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले देशका बिभिन्न स्थानमा सहुलियत(सस्तो) पसल सञ्चालनमा ल्याएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डिडिसी) मार्फत काठमाडौं उपत्यकामा सहित देशका ८५ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार दशैं÷तिहारलाई लक्षित गर्दै ब्यापार कम्पनीले देशभरका ४३ स्थानमा, कपोरेशनले ३२ र दुघ्ध विकास संस्थानले १० स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने भएका हुन् ।
शनिबारबाहेक हरेक दिन बिहान १० देखि ५ बजेसम्म सञ्चालनमा आउने सहुलियत पसलमा साल्टको बिक्री केन्द्रबाट बिक्री हुने चिनी र नुन कोटा प्रणलीमा एक व्यक्तिले ६ किलो नुन र २ किलो मात्रै चिनी किन्न पाउने छन् भने अन्य वस्तु चाहेजति खरिद गर्न सक्नेछन् । आजदेखि सञ्चालनमा ल्याइएको सहुलियत पसल कात्तिक २४ गतेसम्म चल्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ ।
सरकारले सञ्चालनमा ल्याउने सहुलियत पसलमा दैनिक अत्यावश्यक वस्तुको मूल्यमा छुट दिइने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका संघ संस्था र पदाधिकारीबीच बसेको बैठकले दशैंमा छुटसहित अत्यावश्यक वस्तुको बिक्री वितरण गर्ने निर्णय गरिसकेको छ । जसअनुसार कर्पोरेशनले नून प्रतिकिलो १८ र चिनी प्रतिकिलो ७९ रुपैयाँमा बिक्री गर्ने छ ।
छुट हुने सामानको विवरण :
नून – २ रुपैयाँ प्रति किलो
दाल – ५ रुपैयाँ प्रति किलो
चिउरा – ५ रुपैयाँ प्रति किलो
आटा – ५ रुपैयाँ प्रति किलो
तेल (तोरी) – ५ रुपैयाँ प्रति लिटर
तेल (सूर्यमुखी) – ५ रुपैयाँ प्रति लिटर
चिनी – ५ रुपैयाँ प्रति किलो
चामल – ५ रुपैयाँ प्रति किलो
खासी÷बोका (जिउँदो) – १० रुपैयाँ प्रति किलो
सिमी – १० रुपैयाँ प्रति किलो
फापर – १० रुपैयाँ प्रति किलो
तेल (भटमास) – १० रुपैयाँ प्रति लिटर