काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।
सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले आजै दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका कारण शपथ ग्रहणमा ढिलाइ भएको थियो । देउवाको अडान पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिनुभएको हो ।
