बुटवल, ३० असार । प्रदेश ५ का दुईवटा निजि प्रयोगशालाले कोभिड– १९ को पिसिआर परीक्षणको अनुमति पाएका छन् । काठमाण्डौ उपत्यका बाहिर बुटवलको नेश्नल प्याथल्याब बुटवल र बाँकेको कोहलपुर स्थित वागेश्वरी प्रयोगशालाले पिसिआर परीक्षणको अनुमति पाएका छन् ।
सरकारले काठमाण्डौ उपत्यका भित्र चारवटा र उपत्यका बाहिर दुईवटा गरी ६ वटा निजि प्रयोगशालालाई कोभिड– १९ को पिसिआर परीक्षणको अनुमति दिएको हो । स्वास्थ्य तथा जनसँख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुरागरेका छ वटा निजि प्रयोगशालालाई पिसिआर परीक्षण गर्ने अनुमति दिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी गराउनु भयो ।
उपत्यका भित्र काठमाडाँैका स्टार अस्पताल, काठमाडौँ मेडिकल कलेज, सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटोरी र सूर्या हेल्थ केयर सेन्टर रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पिसिआर परीक्षणको दायरा बढाउनका लागि गत जेठ २२ गते इच्छुक निजि प्रयोगशालालाई प्रस्ताव आह्वान गरेको थियो । उक्त प्रस्तावमा १९ वटा प्रयोगशालाले पिसिआरको परीक्षण गर्न प्रस्ताव दर्ता गराएका थिए ।
‘प्रस्ताव दर्ता गराएका प्रयोगशालाको मापदण्ड हेरेर पहिलो चरणमा छ वटा निजि प्रयोगशालालाई परीक्षण गर्न दिएका छौँ’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी गुप्ताले भन्नुभयो– ‘अन्य प्रयोगशालालाई अनुगमन गरेर मापदण्ड पुरागरेपछि मात्र परीक्षणका लागि अनुमति दिइने छ ।’
प्रस्ताव दर्ता गराएका १९ वटा प्रयोगशाला मध्ये नौ वटा प्रयोगशालाले पिसिआर परीक्षण गर्ने मेसिन खरिद गरी जडान गरेका थिए । सरकारले पिसिआर परीक्षणका लागि अनुमति दिएका छ वटा निजि प्रयोगशालाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वाव संकलन गरी उपलब्ध गराएको नमूना मात्र परीक्षण गर्न पाउनेछन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उपलब्ध गराएको एउटा स्वाव परीक्षण गरेबापत निजि प्रयोगशालाले रु पाँच हजार ५ सय शुल्क पाउनेछन् । यसअघि सरकारले सातै प्रदेशका सरकारी एक÷एक प्रयोगशालामा पाँच हजार ५ सय रुपैयाँ शुल्कमा पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ ।
ती प्रयोगशालामा प्रदेश नं १ मा कोशी अस्पताल, प्रदेश नं २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नं ५ मा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा धनगढीको प्रादेशिक प्रयोगशाला रहेका छन् ।
