काठमाडौं २७ असार
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ ।
मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो ।
हाल देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । शनिवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको औँल्याएको छ । आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
सोमबार देशैभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २७ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम नौ दशमलव सात डिग्री र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम ३३ दशमलव पाँच डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
