Homeअर्थकृषि अनुदानमा दोहोरोपन हुन नदिन लेखा समितिको निर्देशन

कृषि अनुदानमा दोहोरोपन हुन नदिन लेखा समितिको निर्देशन

कृषि अनुदानमा दोहोरोपन हुन नदिन लेखा समितिको निर्देशन


बुटवल, २२ बैशाख । प्रदेश सभा प्रदेश नं. ५ सार्वजनिक लेखा समितिले कृषि अनुदानमा दोहोरोपन हुन नदिन र कागजात पुरा गरीे अन्य व्यक्तिका पशुधन वा कृषि सम्बन्धी कार्य देखाई अनुदान लिने परिपाटी माथि पूर्णतया बन्देज लगाउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै समितिले कृषि एम्बुलेन्सको परिचालन अझ बढी व्यवस्थित बनाउन, र कोरोना प्रभावित क्षेत्रमा किसानको हित हुनेगरी विशेष राहत प्याकेज सञ्चालन गर्ने व्यवस्था मिलाउन समेत मन्त्रालयलाई निर्देशन दिएको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड¬–१९) को अवस्थामा प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट सञ्चालित कार्यक्रम र उक्त मन्त्रालयको बार्षिक कार्यक्रम तथा हालसम्मकोे प्रगतिबारे छलफल गर्न प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र मन्त्रालयका सचिवको उपस्थितिमा आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सहभागि समितिका सदस्यहरुले यस्तो निर्देशन दिएका हुन् ।
बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशमा सञ्चालन गरेका बार्षिक कार्यक्रम र हालसम्मको प्रगतिको विवरण प्रस्तुत गरिएको थियो ।
बैठकमा सहभागि समितिका सदस्यहरुले पहाडी जिल्लामा सहकारीहरुले रासायनिक मल बढी मूल्य लिई विक्री गरेको, कृषि एम्बुलेन्स प्रभावकारी नभएको भन्दै स्थानीय कृषि उपजको सहज विक्री तथा ढुवानीका लागि स्थानीय प्रशासनसँग नियमित समन्वय गर्न सुझाव दिएका छन् । उनीहरुले मल विउ दानाको समयमै आपूर्तिकालागि प्रयाप्त तयारी गर्न, बन्दाबन्दीको समयमा किसानलाई परेको मर्कालाई सम्बोधन गर्दै विदेशबाट आएका नेपालीलाई नियमित रुपमा कृषि उत्पादनमा सरिक गराई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउन समेत मन्त्रालयलाई सुझाव दिएका छन् ।