नवलपरासी, १६ बैशाख । नवलपरासीमा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीमा एक जना र पूर्वी नवलपरासीमा एक जना गरी दुई जनालाई प्रहरीले लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार पश्चिम नवलपरासीको सरावल गाउँपालिका ७ भुजहवा भन्सार टोलमा प्रहरी चौकी भुजहवाको टोलीले सोमबार लागुऔषध सहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले पाल्ही नन्दन गाउँपालिका ३ कुस्मा निवासी ३४ बर्षका शेषकुमार उपाध्यायलाई ब्राउन सुगर लगायतका लागुऔषध सहित नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट ओनेरेक्स सिरफ एक सय एमएलको ६० बोटल, अनरेक्स एक सय एमएलको १७ बोटल, स्पाम्स २ सय ८ क्याप्सुल, स्पास्मो २ सय ८१ क्याप्सुल, फेनरागन ६४ पिस, डाइजेपाम ६९ पिस, नुफ्रिन ६७ पिस, ब्राउन सुगर खैरो हिरोइन ७ ग्राम, नाइट्रोभेट २ सय ३८ ट्याब्लेट र युपी ५६ ए एफ ०७३१ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
त्यसैगरी पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा प्रहरीले गाँजा सहित एक जनालाई पक्राउ परेको छ । २ किलोग्राम गाँजा सहित मध्यविन्दु १० अरुणखोला दमार चोकबाट प्रहरीले १ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मध्यबिन्दु नगरपालिका १५ बस्ने बर्ष २८ का चेत बहादुर नेपाली रहेको ईलाका प्रहरी कार्यालय अरुणखोलाका प्रहरी नायब निरीक्षक जनक बुढाले जानकारी दिनुभयो ।
हुप्सेकोट गाउँपालिकामा स्थानीयलाई धम्काएर भागेका नेपालीलाई प्रहरीले पछ्याउने क्रममा गाँजा सहित पक्राउ गरेको हो । नेपालीलाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।