वासुदेव घिमिरे
प्रमुख, तिलोत्तमा नगरपालिका
विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थानीय सरकारका जनप्रतिनिधिहरुले अत्यन्त मेहनतपूर्वक काम गरिरहेका छन् । नेपाल सरकारको मार्गदर्शन र प्रदेश सरकारहरुको समन्वयमा स्थानीय गाउँ र नगरपालिकाहरुले यतिबेला आफ्नो सम्पूर्ण शक्ति महामारी रोकथाम र नियन्त्रणमा परिचालन गरेका छन् । सीमित स्रोतका बाबजुद देशमा विपद् जोखिम आइपर्दा स्थानीय सरकारहरुले गरेको कामको कतिपय क्षेत्रहरुमा आलोचना पनि हुने गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना रोकथाममा के कस्ता कामहरु ग¥र्यो ? के के चुनौती र अप्ठेराहरु आइपरे भनेर हामीले नगरप्रमुख वासुदेव घिमिरेसँग कुृराकानी गरेका छौं । प्रस्तुत छ ः उहाँसँग गरिएको कुराकानीको सारसंक्षेप ।
कोरोना भाइरस जोखिम न्युनीकरणका लागि नगरपालिकाले अहिलेसम्म के के गर्यो ?
यति लामो समयसम्मको लकडाउन संभवतः नेपालको इतिहासमा पहिलोपटक हो । संक्रमण जुन गतिमा बढ्छ भन्ने हाम्रो आंकलन थियो, तर आंकलन गरिए अनुसार संक्रमण बढेको छैन । राज्यले समयमै यसको नियन्त्रणको लागि लकडाउन थप्दै गएको अवस्था हो र जनताले यसलाई स्वीकार गरेको कारणले यो संभव भएको हो । लामो समयसम्म लकडाउन भइरहँदा यसले समाजका विभिन्न क्षेत्रहरुमा स्वाभाविक ढंगले नकारात्मक असर परिरहेको छ । जहाँसम्म कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नगरपालिकाको तर्फबाट सुरुमै सन्देशमूलक कार्यक्रमहरु सम्पन्न ग¥यौं । यहाँका जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारीहरु, स्थानीय संघसंस्था, मिडियाकर्मी सबैको सहयोग लिएर जनतामाझ व्यापक जनचेतनामूलक सन्देश प्रवाह ग¥यौं । सँगसँगै विद्यालय केन्द्रित कार्यक्रम पनि ग¥यौं । त्यसपछि महत्वपूर्ण कुरा भनेको बाहिरबाट आउनुभएका नागरिकहरुको लगत संकलन गर्ने कामलाई प्राथमिकता दियौं र यसलाई प्रत्येक वडामा त्यहाँको टोल विकास संस्था र वडालाई परिचालन गरेर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुको सहयोग लिएर हामीले प्रत्येक टोल टोलमा त्यो सूचना दियौं र जस अनुसार बाहिरबाट आउनुभएका नागरिकको सन्दर्भमा अहिले पनि १९० जना होम क्वारेन्टाइनको रुपमा बसिरहनुभएको छ । उहाँहरुमध्ये कतिपय अवधि पूरा भएर छुृट पाउने अवस्था छ भने हालसम्म ८१ जना नागरिकहरुले नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा सेवा लिनुभएको छ । जस अनुसार क्वारेण्टाइनमा अहिले पनि ३१ जना हुनुहुन्छ भने अन्य आरडिटी टेष्ट रिपोर्ट नेगेटिभ आएपछि आ–आफ्नो घर फर्किएको अवस्था छ । यसैगरी संभावित जोखिमलाई मध्यनजर गरेर आइसोलेसन बेडहरु तयार गर्नेगरी नगरपालिका अगाडि बढेको छ । हामीसँग भएका यहाँका स्वास्थ्यकेन्द्रहरुलाई अधिकतम प्रयोग गर्नेगरी त्यो नीति अवलम्बन ग¥यौं र शंकरनगरको वडा नम्बर २ मा रहेको स्वास्थ्य केन्द्रमा केही बेडहरु तयार गरेर न्यूनतम पूर्वाधारको व्यवस्था गरेका छौं । क्वारेन्टाइनको व्यवस्थापन पनि हामीले राम्रै ढंगले गरिरहेका छौं । नागरिकलाई खान, बस्न र सुरक्षाको समेत राम्रो प्रवन्ध गरेका छौं ।
यसको प्रभाव झेलिरहेका विपन्न नागरिकको हकमा के के गर्नुभयो ?
समाजमा गरिखाने नागरिकलाई यसको प्रत्यक्ष असर पर्यो । उद्योग, कलकारखाना नचलिरहँदा गरिखाने नागरिकहरुले काम नगरेसम्म हातमुख जोड्न नपाउने अवस्था थियो । उहाँहरुलाई मध्यनजर गरेर हामीले पहिलो चरणको लकडाउनको क्रममै छैठौं दिनसम्म करिव २ हजार भन्दा बढी नागरिकको लगत तयार गरेर प्रारम्भिक तहको राहत वितरण गर्ने काम ग¥यौं र अहिले त्यो सूचीलाई क्रमशः हामी पछिल्लो दिनसम्म ३२ सय भन्दा बढी घरधुरीमा पुगेका छौं भने लामो समयसम्म लकडाउन भइरहँदा थप संबोधन गर्नुपर्छ भन्ने हिसावले हामीले हाम्रो स्रोतको अधिकतम प्रयोग गरेर खाद्य बैंक पनि स्थापना गरेका छौं । खाद्यबैंकमा जिन्सीहरु जम्मा गर्ने क्रम पनि बढेको छ । यी सबै कामहरु गर्दै यतिवेला थप राहतको व्यवस्थापनमा हामी जुटिरहेको अवस्था छ ।
यो बीचमा कृषि क्षेत्रलाई पनि संबोधन गर्नुभयो ?
हो, हामीले कृषिसँग सम्बन्धित कुरालाई संबोधन गर्नका लागि एकातिर खेतीपाती स्याहार्ने समय थियो भने अर्कोतिर तरकारी बालीहरु उत्पादन हुने समय पनि थियो । यस्तै हामीले आयातित तरकारीहरु वन्द गरेको अवस्था थियो भने सबै टोलहरुमा सन्तुलित ढंगले तरकारी उत्पादन पनि नभएको अवस्था थियो । यसैले हामीले यो बेलामा मानिसहरुको आवत जावत समेत बन्द भएकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिनेगरी नगरपालिका आफैले कृषि एम्बुलेन्स तयार गरेर करिव तीन साता अघिदेखि नगरका सवै वार्ड र टोलमा तरकारी पुर्याउने गरी नियमितरुपमा चारवटा एम्बुलेन्स सञ्चालन गरिरहेको अवस्था छ । अहिले वडा नम्बर १३ र १४ का साथै अन्य क्षेत्रमा पनि तरकारी उत्पादन गर्ने किसानहरु प्रशस्त हुनुहुन्छ । किसानहरुलाई संबोधन गर्ने र उपभोक्ताहरुलाई घरघरमै सेवा पु¥याउने निर्णय सहित संचालन गरिएको कृषि एम्बुलेन्सले पनि सवै क्षेत्रमा राम्रो प्रभाव पारेको छ । यसवाट किसान र उपभोक्ता खुशी भएको अनुभूति हामीले गरेका छौं ।
लकडाउनले शिक्षा क्षेत्र पनि बढी प्रभावित भएको छ नि ?
स्वभाविक रुपमा लकडाउनले अन्य क्षेत्र जस्तै शिक्षा क्षेत्र पनि प्रभावित छ । विद्यार्थीहरु एसईई परीक्षा दिन तयार भएको अवस्थामा परीक्षा सरेको अवस्था छ । यो परिवेशमा विद्यार्थीहरुलाई थोरै भएपनि संबोधन गरौं भन्ने हिसावले हामीले पहिलो चरणमा एसईईलाई लक्षित गरेर अनलाईन कक्षा सुरु ग¥यौं र अहिले पनि चलिरहेको छ । यसरी हाम्रा अभियानहरु सञ्चालन भइरहेका छन् भने थप विकल्पहरुका बारेमा पनि अध्ययन गरिरहेका छौं ।
यी कामहरु गरिरहँदा आम नगरबासी, अन्य राजनीतिक दलहरुको सहयोग र समन्वय कस्तो रह्यो ?
नगरबासीको सहयोग नरहने कुरै भएन । यहाँ विभिन्न संघसंस्था, उद्योगी व्यापारी, राजनीतिक दल, सञ्चारकर्मी, टोलविकास संस्था, आमा समूह, विद्यालय, सहकारी संस्थाहरुबाट अधिकतम सहयोग भएको छ । कतिपय अवस्थामा राहत कोषमा स्वतस्फुर्तरुपले उहाँहरुले रकम जम्मा गर्ने काम गर्नुभएको छ । यो ठूलो सहयोग हो । खाद्य बैंकमा पनि उहाँहरुले जिन्सी सामान सहयोग गरिरहनुभएको छ । अर्कोतिर लकडाउनलाई कार्यान्वयन गर्ने सन्दर्भमा पनि उहाँहरुले सँगै हातेमालो गरेर जनतालाई सुसुचित गराउने काममा सहयोग गर्नुभएको छ । उहाँहरुको सहयोग नभएको भए कार्यान्वयन गर्न नगरपालिकालाई गाह्रो हुन्थ्यो । सवै क्षेत्रको सहयोग र साथका कारण हामीले सीमित स्रोत र साधनका बाबजुत पनि ठूलो उपलव्धि हासिल ग¥यौं भन्ने लागेको छ ।
राहत कोषमा अहिलेसम्म कति रकम जम्मा भयो र कति खर्च भयो ?
नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा अहिलेसम्म ८० लाख भन्दा बढी नगद रकम जम्मा भएको अवस्था छ । यसबाहेक डेढसय क्वीन्टल भन्दा बढी चामल, १५ क्वीन्टल भन्दा बढी दाल खाद्य बैंकमा जम्मा भएको छ । सहयोग गर्ने क्रम अहिले पनि जारी छ । यसमध्ये २५ लाख भन्दा बढी रकम राहत शीर्षकमा खर्च गरिएको छ भने क्वारेन्टाइन व्यवस्थापनमा पनि हामीले खर्च गरेका छौं । यो बीचमा एउटा सवारी साधन भाडामा लिएको अवस्था छ । यी सबै क्षेत्रमा भएको खर्च ब्यवस्थापनका हिसावले अहिलेसम्म करिव ३५ लाख रकम खर्च भएको छ । यो प्रकोप व्यवस्थापन कोष कोरोना महामारीको लागि मात्र नभएर अरु भवितव्य पर्दा समेत खर्च गर्न मिल्ने गरी हामीले कार्यविधि बनाएका छौं ।
कोरोना नियन्त्रणका काम गरिरहँदा के के समस्या र चुनौती आइपरे ?
त्यति ठूलो समस्या त हामीले झेलेनौं । हामी आफै योजना निर्माण गरेर जति काम गर्नुपर्ने हो, त्यो गर्नेतर्फ केन्द्रित भयौं । यो बीचमा संघीय सरकारले विभिन्न निर्देशन जारी ग¥यो । राहत प्याकेजको पनि घोषणा त भयो तर अहिलेसम्म संघीय सरकारको तर्फबाट हाम्रो खातामा राहत बापतको रकम जम्मा भएको अवस्था छैन । प्रदेश सरकारबाट नगरपालिकालाई १५ लाख दिने निर्णय भए बमोजिम त्यो रकम निकासा भइसकेको छ । यहाँ भएको हस्पिटलले बिरामीको उपचार नगरेको भन्ने नागरिकको गुनासो सुरुवाती चरणमा आएको थियो । यहाँ भएका हस्पिटलले ओपिडी सेवा बन्द गर्ने, बिरामी नआइदिए हुन्थ्यो भन्ने, आएका बिरामीलाई फर्काउने परिपाटी पनि भयो, उहाँहरुसँग हामी २–३ पटक बसेर छलफल ग¥यौं र उपचारमा सहजता ल्याउन आग्रह ग¥यौं । तर पनि सहजता भएन । यसमा दुःख लागेको छ । हुन त अरु क्षेत्रमा पनि यस्तै अवस्था छ । यस्तै अन्य समस्याहरुसँग जुध्दै हामी अगाडि बढिराखेको अवस्था छ ।
लकडाउनका बीच संघीय सरकारले खोप कार्यक्रमलाई सञ्चालन गर्ने निर्णय ग¥यो । तिलोत्तमामा यो सुरु भयो कि भएन ?
हामी यसलाई सुरु गर्दै छौं । स्वास्थ्यकर्मी साथीहरुले यसको योजना बनाउनुभएको छ । अव १–२ दिनभित्रै नियमित खोप कार्यक्रम सुरु गर्ने तयारीमा छौं ।
तिलोत्तमा नगरपालिकाका अवका कार्यभार के के छन् ?
यो अवस्था छिटै नै सहज होला भन्नेमा हामी आशावादी छौं । त्यो भएसँगै जनताका दैनिक हुने सेवामूलक कामहरु सुचारु गर्नुपर्ने छ । अर्कोतिर बजेट निर्माण गर्ने, वार्षिक नीति तथा कार्यक्रम तयार गर्ने र यसलाई पारित गर्ने काम पनि अगाडि बढाउनुपर्ने छ । यो महामारी नआएको भए अहिले बजेट निर्माणको अन्तिम अवस्थामा आइपुग्थ्यौं । अव सामाजिक दूरी कायम गरेर यस्ता कामहरु हामीले गर्नुपर्ने छ । अर्कोतिर चालुवर्षका महत्वपूर्ण आयोजनाहरु किसानसँग जोडिएका, सिंचाइसँग जोडिएका आयोजनाहरु, सेवा कार्यालयसँग जोडिएका आयोजनाहरु, कतिपय प्रदेश र संघसँग जोडिएका ठूला आयोजनाहरु पनि छन् । वर्षाअघि नै यसलाई पनि अघि बढाउनुपर्ने छ । यो महामारीले हामीलाई एउटा गम्भीर सन्देश पनि दिएको छ । अव हामीले कुन क्षेत्रलाई संबोधन गर्ने भन्नेकुरा गहिरिएर सोंच्न सकेनौं भने ठूलो विकराल अवस्था आउन सक्छ । यसको ठूलो प्रभाव आर्थिक क्षेत्रमा पर्ने भएकोले हामीले उत्पादनमा ध्यान दिनुपर्छ । कृषिलाई तीनतहकै सरकारले उचित संबोधन गर्नुपर्छ । बाँझो खेत कतै नराख्ने परिपाटी अवलम्वन गर्नुपर्छ भनेर नगरपालिकाले निर्णय गरिसकेको छ । यसलाई कसरी कार्यान्वयन गर्ने भन्नेबारेमा सोंचिरहेका छौं । संघीय सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकता दिएकोले हामीले पनि यसैलाई जोड दिएका छौं । त्यस्तै स्वास्थ्य क्षेत्रलाई पनि हामीले उचित संबोधन गर्नेगरी अघि बढ्ने सोंचमा छौं ।