बुटवल २ फागुन
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल कब्जा गर्ने भारतको योजना रहेको बताउनु भएको छ ।
अहिलेसम्म देशको ७१ ठाउंमा सीमा मिचेको भारतको अन्तिम योजना नेपाललै कब्जा गर्ने रहेको दावी गर्नुभयो ।
पार्टी निकट अलिख नेपाल महिला संघको शुक्रबारदेखि बुटवलमा शुरु भएको सातौ राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै नेपालका ठूला नदीनाला भारतले कब्जा गरिसकेको बताउनु भयो । उहांले सत्ता सञ्चालकहरुको कमजोरीका कारण संसारमै जलश्रोतको धनी देशका नेपाली जनता अहिले भिक मागेर खाने अवस्थामा पुगेको बताउनु भयो । संविधान कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै संविधान कार्यान्यनका लागि फेरी संघर्ष गर्नुपर्ने बताउनु भयो । विकासको नाममा सरकारले एमसीसी ल्याएर जनतामा भ्रम सिर्जना गरेको दावी गर्दै हिजो महाकाली सम्झौता गरेकाहरुले अहिले एमसीसी ल्याएर जनतालाई झुक्काउन लागेको बताउनु भयो । एमसीसी नेपालको हितमा नभएको उल्लेख गर्दै अमेरिकाले सहयोगको नाममा एमसीसी भित्राएर नेपालमा अमेरिकी सेनाको अखडा बनाउन खोजेको दावी गर्नुभयो । एउटा देशलाई प्रदेशका नाममा सातवटा देश बनाएकै कारण नेपाली जनता गाई र भैसीको कर तिर्न बाध्य भएको उल्लेख गर्दै जनताको लागि संघीयता घाडो भैसकेको नेता केसीको भनाइ छ । बिदेशबाट आएको रेमिटान्सने देश चल्न नसक्ने बताउंदै बहुमतको सरकार असफल भएको बताउनु भयो । उहांले संविधानले दिएको अधिकार जनाताले नपाएको बताउंदै महिला अधिकारका लागि संगठित रुपमा आन्दोलन आवश्यक रहेको बताउनु भयो । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले देशमा अझै महिला हत्या हिंसाका घटनामा कमी आउन नसकेको बताउनु भयो ।
उहांले संविधानले दिएको अधिकार महिलाहरुले नपाएको उल्लेख गर्दै सम्पतिमा समान अधिकार प्राप्ती र महिला हिंसा अन्त्यका लागि सशक्त आन्दोलन आवश्यक पर्ने बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टी मसालका प्रवक्ता रामप्रकाश पुरीले समान अधिकार र राष्ट्रियताको रक्षाका महिला आन्दोलन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा प्रदेश सांसद पियारी थापा, तारा जीसी, अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे, अन्टुकका उपाध्यक्ष लोकराज भुसाल, रक्तिमका हेमराज आश्रम, पत्रकार प्रकाश थापा, शरिता जीसी, लक्ष्मी बास्कोटा, रुकबहादुर पराजुली, महेश जोशी, लक्ष्मणदेव पाण्डे, ढुण्डिराज शर्मा, दिलबहादुर बिक, निमबहादुर बुढा लगायतले शुभकाना व्यक्त गर्नुभएको थियो । संघकी अध्यक्ष तथा सभासद् मिना पुनको अध्यक्षता र सरस्वती पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो । सम्मेलन उद्घाटन अगाडी बुटवलमा ¥याली निकालिएको थियो ।
सम्मेलनमा ४ सय प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहको अध्यक्ष मिना पुनले जानकारी गराउनु भयो ।
महिलामाथि भइरहेका सबै प्रकारका विभेदको अन्त र महिलाहरूलाई आर्थिक, राजनीतिक, सामाजिक लगायतका हरेक क्षेत्रमा पुरूष सरह समान अधिकारको पक्षमा निरन्तर संघर्ष गर्नुपर्ने बताउनु भयो ।