ठूलासाना परियोजनाको डिजाईन,डिपिआरको लागि काठमाडौं जानु नपर्ने
बुटवल, २ फागुन । प्रदेशनं. ५ को अस्थायी राजधानी बुटवलमा पहिलो पटक इन्जिनियरिङ्ग प्रयोगशाला स्थापना भएको छ । बुटवल क्षेत्रका केही युवा इन्जिनियरहरुले निजीस्तरबाट जियो टेस्टिङ्ग एण्ड कन्स्ट्रक्सन प्रा.लि. (जिटिसि) नामक सुविधा सम्पन्न एवं सर्वसुलभ इन्जिनियरिङ्ग प्रयोगशालाको स्थापना गरेका हुन् । बुटवल उपमहानगरपालिका बेसक्याम्पमा स्थापना गरिएको प्रयोगशाला संचालनमा समेत आएको छ ।
प्रयोगशालाको प्रदेश नं. ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले एक बिशेष कार्यक्रमविच शुभारम्भ गर्नु भएको हो । सो अवसरमा बोल्दै मन्त्री चौधरीले गुणस्तरिय निर्माणमा यस प्रयोगशालाले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा सहित यसलाई नतिजा र परिणाममुखि बनाउन आग्रह गर्नुभयो ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवि आचार्यले प्रयोगशालालाई ब्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिनुभयो ।
नेपाल निर्माण ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष टोपबहादुर रायमाझीले गुणस्तरीय निर्माणको लागि अति आवश्यक प्रयोगशालाको स्थापनाले यस क्षेत्रमा हुने सबै निर्माणका कार्यहरु थप प्रभावकारी र गुणस्तरीय हुने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसियसन ५ नं. प्रदेशका अध्यक्ष ईन्जिनियर कुसुमराज ज्ञवालीले प्रयोगशालाको स्थापना संगै यसको आवश्यक्ता र प्रभावकारिताका बारेमा सबैलाई सुसुचित गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो ।
कार्यक्रममा सहभागि यस क्षेत्रका ३ सय वढि इन्जिनियर तथा निर्माण ब्यवसायीहरुले प्रयोगशाला स्थापना भएकामा खुशी ब्यक्त गर्दै प्रयोगशालाको सफलताको कामना गरेका थिए ।
‘गुणस्तरीय निर्माणको लागि एउटा प्रयास’’ भन्ने नारा दिएर प्रयोगशाला स्थापना गरिएको प्रयोगशालाका निर्देशक ईन्जिनियर महेश आर्चायले बताउनु भयो । उहांका अनुसार देश प्रादेशिक संरचनामा गएको र विकास निर्माणका कामहरु पनि तीव्र रुपमा अगाडी बढेकाले ५ नं. प्रदेशलाई लक्षित गरेर यो प्रयोगशाला स्थापना गरिएको हो ।
जियो टेस्टिङ्ग एण्ड कन्स्ट्रक्सनमा ड्रिलिङ कार्य सहित माटोको सम्पूर्ण परिक्षण, छड÷डण्डी, ढुङ्गा गिट्टि बालुवा, इट्टा, ब्लक र कंक्रिट, कंक्रिट मिक्स डिजाईन, सडक निर्माणमा फिल्ड डेन्सिटी, असफाल्ट कंक्रिटको मार्सल स्टाविलिटि परिक्षण गर्न सकिने सुविधा छ । यस्तै तार, जाली, टेन्डनका साथै सम्पूर्ण निर्माण सामाग्रीको परिक्षण अत्याधुनिक उपकरण बाट अनुभवी टेक्निसियनहरुद्वारा गरिने सुविधा रहेको कम्पनिका अर्का निर्देशक इन्जिनियर सुनिल लम्साल बताउनु हुन्छ ।
ईन्जिनियर लम्सालका अनुसार कम्पनिले नेपाल गुणस्तर तथा नापतौल विभागबाट क्यालिब्रेसन गरि सम्पूर्ण उपकरणको प्रमाणपत्र समेत प्राप्त गरिकेको छ ।

निर्देशक ईन्जिनियर असिम भट्टराईका अनुसार यस कम्पनीले ठूला पूल निर्माणको प्रिटे«सिङ्ग कार्य गर्नुका साथै निर्माण उद्योगको सहजताका लागि इन्जिनियरिङ्ग सर्भे, ल्याव परिक्षण र सेफ्टीका (सुरक्षा उपकरणका) सम्पूर्ण सामानहरु समेत उपलब्ध गराउने छ ।
प्रयोगशालाको स्थापना संगै ठूला परियोजनाका भवन, पूल, सडक, सिंचाइ,जलविद्युत आयोजना, खानेपानी तथा ढल निकास सम्बन्धि ठूलासाना परियोजनाहरुको डिजाईन÷ डिपिआरको लागि समेत अब काठमाडौं धाईरहनु नपर्ने भएको छ ।
आफ्नै क्षेत्रमा सम्पूर्ण सूविधा सहितको कम्पनी खुल्नु यस क्षेत्रको निर्माण ब्यवसाय र ईन्जिनियरिङ्ग पेशा दुवैको लागि राम्रो रहेको सडक डिभिजन बुटवलका प्रमुख मेघराज मरासिनीले बताउनु भयो ।
प्रदेश नं. ५ भौतिक पूर्वाधार विकास मन्त्रालयका ईन्जिनियर सूर्यदेव गुप्ताले काठमाडौंलाई आधार बनाएर डिजाईन डि.पी.आर बनाईरहेका दक्ष अनुभवी ईन्जिनियरहरुले बुटवल सेरोफेरोको बढ्दो संरचना निर्माण लाई ख्याल गरि बुटवल आउनु र यही केही गर्न खोज्नु राम्रो पक्ष भएको बताउनुभयो ।
नेपाल इन्जिनियर्स एसोसियसन ५ नं. प्रदेश का सदस्य इन्जिनियर महेश्वर लम्सालले देश तिव्र निर्माणको चरणमा रहेको र गुणस्तर कायम गर्न ठूलो चुनौति भईरहेको अवस्थामा यस प्रकारको प्रयोगशालाको स्थापनाले निर्माण उद्योगमा ठूलो टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
बुटवलमै सस्तो र सुविधा सम्पन्न अत्याधुनिक प्रयोगशालाको स्थापनाले ठूला संरचना निर्माण गर्दा आवश्यक पर्ने परिक्षणहरु गर्न काठमाडौं धाउनु पर्ने बाध्यताबाट मुक्त भईने कुराले यस क्षेत्रका निर्माण ब्यवसायी खुशी र उत्साहित भएको निर्माण ब्यवसायी मनोज खनालले बताउनु भयो ।