मन्दिरमा रहेको ढुङ्गा उठाउन सके मनोकामना पुरा हुने विश्वास
सनिउल्ला धोबी
कपिलवस्तु, २ फागुन । कपिलवस्तुको शिवराज नगरपालिका–३ भितारियाको सोनवागढ मन्दिरमा रहेको ढुङ्गा उठाउन सके भविष्य चम्किने विश्वास रहिआएको छ । परापुर्वकाल देखि प्रख्यात सोनवागढ मन्दिर भित्र रहेको उक्त ढुङ्गा जो कोहिले उठाउन सक्दैन ।
हेर्दा सानो देखिने गोलो आकारको ढुङ्गा त्यहां पुग्ने निकै कम मानिसले मात्र उठाउन
सक्छन । दुरदराजबाट आएका भक्तजनहरुले सत्य मनले ढुङ्गा उठाउन सके मनोकामना पुरा हुने विश्वास रहिआएको छ ।
ढुङ्गा उठाउने मानिसको मनमा लोभ, र लालच भए ढुङ्गा उठाउन नसक्ने
मन्दिरका पुजारी रामप्रसाद यादव बताउनुहुन्छ । सत्य मनले ढुङ्गा उठाए आफ्नो भाकल पूरा हुने र भविष्य चम्किने विश्वास रहेको पुजारी यादवले बताउनु भयो ।
शिवराज नगरपालिका चन्द्रौटा बजार देखि झन्डै ६ किलोमिटर उत्तरतर्फको घना जंगलमा रहेको सो सोनवागढ मन्दिरमा राजाले सुनको खजाना लुकाएर राखेको मान्यता र विश्वास अनुसार मन्दिरको नाम सोनवागढ राखिएको स्थानीय जानकारहरु बताउछन् । ढुङ्गाको माथिल्लो भागमा बन्चरोले काटेको जस्तो देखिन्छ । भितारिया गाउँका बुढापाका भन्छन्–‘एक साँढे गोरु खेतमा छरेको अन्नबाली खान आउंदा किसानले बन्चरोले हान्दा साँढे गोरुलाई काटेको थियो ।’ अर्को दिन भितारियाका स्थानीयले सोनवागढ मन्दिरमा हेर्दा ढुङ्गामा बन्चरोले काटेको जस्तो देखिएकोले उक्त ढुङ्गा साँढे गोरु बनेर खेतमा घाँस चर्न गएको जनविश्वास रहिआएको छ ।
धार्मिक र ऐतिहासिक महत्व बोकेको सोनवागढ मन्दिर क्षेत्रको संरक्षणका लागि पछिल्लो समय विभिन्न निकायले पहल गरेका छन् । गत वर्ष सो क्षेत्रमा उत्खनन हुंदा गुप्तकालिन सामाग्री फेला परेको थियो ।
सोनवागढ क्षेत्रको संरक्षणका लागि ‘एरियल फोटोग्राफी’ समेत गरिएको छ । आकाशमा ड्रोन उडाएर सोनवागढ क्षेत्रको फोटो खिचिएको हो । सोनवागढ मन्दिर क्षेत्रको संरक्षण र यसको वास्तविकता बुझ्न दुर्हाम विश्वविद्यालय बेलायतका
डा. मार्क मेनवलले फोटोग्राफी गरेका हुन् । सानो आकारको उपकरणमा
क्यामरा जडान गरी सो क्षेत्रको तस्बिर खिचिएको हो ।
मन्दिरको पश्चिमी क्षेत्रमा रहेको सुकबेल नदीले प्रत्येक वर्ष मन्दिर क्षेत्र कटान गर्दै आएका कारण सो क्षेत्रको संरक्षण हुन सकेको छैन । मन्दिर परिसरमा ४ वटा अग्ला ढिस्काहरू रहेका छन् भने मन्दिरको पश्चिम क्षेत्रमा रहेको ढिस्कोमा केही वर्ष पहिले मूर्ति फेला परेको र सोही मूर्तिलाई अहिले मन्दिरभित्र राखिएको छ ।
लुम्बिनी विकास कोषले गत वर्ष पुसमा सो क्षेत्रमा पहिलो पटक उत्खनन गरेको थियो । उत्खननका क्रममा सोनवागढबाट गुप्तकालीन इँटाबाट निर्मित भग्नावशेषहरू फेला परेका थिए । सो क्षेत्रमा भेटिएका गुप्तकालीन भग्नावशेषहरूको समय यकिन गर्न परिक्षण गरिने भएको छ ।
धार्मिक पर्यटनका लागि प्रचुर सम्भावना बोकेको सोनवागढ मन्दिरमा लुम्विनी विकाष कोषको पुरातत्व विभागले गत वर्षदेखि नै सोनवागढ मन्दिर क्षेत्रलाई संरक्षण गर्दै आएको छ । हजारौँ वर्ष पुरानो तथा धार्मिक धरोहरका रूपमा रहेको सोनवागढ मन्दिरको वास्तविक इतिहास पत्ता लगाउन उत्खननले धेरै सहयोग पु¥याउने अपेक्षा गरिएको छ । उत्खननका क्रममा १३ सय वर्ष सम्म पुराना ऐतिहासिक संरचना पाइएको छ ।