बुटवल । बुटवल उपमहानगरपालिका अन्तर्गतका १३ वटा संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूले निःशुल्क छात्रवृत्ति पाउने भएका छन् ।
संस्थागत विद्ययालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थी छनोटका लागि बुटवल उपमहानगरपालिकाले आइतबार सम्बन्धित विद्यालयमै परीक्षा संचालन गरेको थियो ।
बुटवलका १३ संस्थागत विद्यालयमा कक्षा ११ मा हालसम्म भर्ना भएका तीन हजार चार सय ३६ विद्यार्थीमध्ये यस बर्ष तीन सय ४४ जना विद्यार्थीले निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो ।
संस्थागत विद्यालयहरूले प्रदान गर्ने गरिब तथा जेहेन्दार छात्रवृत्तिलाई पारदर्शी र सम्बन्धित विद्यार्थीको पहुँचमा पु¥याउन निःशुल्क छात्रवृत्तिका लागि विद्यालय र उपमहानगरपालिकाले छुट्टाछुट्टै सूचना प्रकाशित गरि परीक्षा लिने गरिएको नगर प्रमुख पाण्डेयले बताउनुभयो ।
नगर प्रमुख पाण्डेयका अनुसार ११ कक्षामा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले कक्षा १२ पनि निशुल्क अध्ययन गर्न पाउनेछन् ।
छात्रवृत्ति छनोटका लागि सम्बन्धित विद्यालयले परीक्षाको ब्यवस्था मिलाएको भए पनि परीक्षाको अनुगमनका लागि उपमहानगरपालिकाले कर्मचारी खटाएको बुटवल उपमहानगरपालिकाका अनुगमन शाखा प्रमुख ठगिश्वर बस्यालले बताउनुभयो ।
बिगतमा संस्थागत विद्यालयहरूले आफ्नै हिसाबले गरिब तथा जेहेन्दार छात्रवृत्ति प्रदान गर्दै आए पनि पछिल्लो केही बर्षयता छात्रवृत्ति बितरणका लागि स्थानीय तहले परीक्षा लिने ब्यवस्था गरेकोले सोही अनुसार परीक्षाको ब्यवस्थापन गरिएको न्यु होराइजन मा वि बुटवलका प्राचार्य लोकनाथ उपाध्यायले जानकारी दिनुभयो ।
परीक्षा ब्यवस्थित गराउन बुटवल उपमहानगरपालिकाले कर्मचारी खटाएको र प्रश्नपत्र समेत नगरपालिका अन्तर्गतको शिक्षा शाखाले तयार पारेको प्राचार्य उपाध्यायले बताउनुभयो ।
प्राचार्य उपाध्यायले ऐनले तोकेको १० प्रतिशत बाहेक पनि आर्थिक अभावका कारण पढ्न नसक्ने अवस्थाका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालयले पनि छात्रवृत्ति प्रदान गर्ने प्रतिवद्वता ब्यक्त गर्नुभयो ।