बुटवल । अघिल्लो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट रुपन्देही–१ मा उम्मेदवार बनिसक्नुभएका धनीराम चौधरी सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गर्नुभएको छ ।
आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर–३ को प्रतिनिधिसभा उपचुनावमा उम्मेदवार बनाउने गरी सिके राउत नेतृत्वको पार्टीले चौधरीलाई पार्टीमा भित्र्याएको हो ।
आइतबार रुपन्देहीमा आयोजित कार्यक्रममा धनीरामसहित नाउपा नेताहरू जनमतमा प्रवेश गरेका जनमत पार्टीका प्रदेश अध्यक्ष राजेन्द्र गुप्ताले जानकारी दिनुभयो । अघिल्लो संसदीय निर्वाचनमा धनीरामले नाउपाबाट उम्मेदवार बनेर १३ हजार ९६२ मत प्राप्त गर्दै चौथो बन्नुभएको थियो ।
जनमत पार्टीका प्रदेश अध्यक्ष गुप्ताका अनुसार नागरिक उन्मुक्ति पार्टीका पूर्व जिल्ला अध्यक्ष कमल नारायण चौधरी, थारु कल्याणकारी एवं थारुहट संर्घष समिति प्रदेश सचिव सरस्वती थारु, नागरिक उन्मुक्तिका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला महिला अध्यक्ष गौरी यादव, नागरिक उन्मुक्तिका प्रदेश सदस्य रामकुमार चौधरी, नागरिक उन्मुक्तिका केन्द्रीय सदस्य खेम बहादुर चौधरी, रुद्र नरायन चौधरी, बैजन्ती चौधरीलगायतका नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।
उनीहरुलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले रुपन्देहीको सियारीमा विशेष कार्यक्रम गरी पार्टीमा प्रवेश गराउनु भएको हो ।
संघीय लोकतान्त्रिक मोर्चाले नाउपाका संरक्षक रेशम चौधरीले उठाएको उम्मेदवारलाई सघाउने निर्णय गरे पनि नाउपाभित्रको विवादले उक्त दल दर्ता हुन सकेन । रेशम चौधरी संरक्षक रहेको नाउपाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । चुनाव नजिकिएसँगै रुपन्देहीमा राजनैतिक दलहरूको सक्रियता बढेको छ ।