काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालय मन्दिरहरूमा श्रद्धालुहरुको भीड लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।
साउनको सोमबार भगवान् शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरूले व्रत, पूजापाठ, दान लगायतका काम गर्नेगर्दछन् । बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ ।
पश्चिम नेपालकै पशुपति भनेर परिचित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबमधाम सैनामैनामा पनि विहानैदेखि भक्तजनको भिड रहेको छ ।
रुपन्देहीका मुक्तिनाथ धाम, कालिका मन्दिर, पाल्पाको सिद्धबाबा मन्दिर, तिलोत्तमाको श्रृङ्गेश्वर धाम, मोक्ष धाम लगायतका स्थानीय शिव मन्दिर तथा धार्मिक क्षेत्रहरुमा विहानैदेखि भक्तजनको भिड रहेको छ । यस वर्ष साउनमा ५ वटा सोमबार परेको थियो ।
साउनको सोमबार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकांक्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ । साउनको पहिलो सोमबारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरुले आज गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्दछन् ।
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरूको घुइँचो लागेको छ ।