काठमाडौं । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ पर्व, शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ ।
चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ । शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ । नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा मात्र देवीको पुजा आरधना गर्ने गर्छन् ।
वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्रा.डा. रामचन्द्र गौतम बताउनुहुन्छ । यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बिश्वास गरिन्छ ।
चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ । नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने प्रचलन रहेको छ । काठमाडौंमा गुह्येश्वरी, भद्रकाली, शोभाभगवती, नक्सालभगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेपलाञ्चोकमा पलाञ्चोक भगवती, सिन्धुपाल्चोकमा पाल्चोक भगवती गोरखामा मनकामना, बाँकेमा बागेश्वरी, पाल्पाको भगवती मन्दिर, रम्भादेवीलगायतका शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।