काठमाडौं । देशका हिमाली तथा पहाडी क्षेत्रमा आज (बिहीबार) फागुपर्व हर्षोल्लासका साथ मनाइँदै छ । यो पर्व फाल्गुन शुक्ल पूर्णिमामा मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
योपटक भने बिहीबार १० घडी ३६ पला अर्थात् बिहान १० बजेर ३२ मिनेटसम्म चतुर्दशी तिथि रहने र त्यसपछि पूर्णिमा लाग्ने पञ्चांगमा उल्लेख छ ।
वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कामाथि पानी छ्यापेर र विभिन्न प्रकारका रङ दलेर मनाउने चलन छ । यो पर्वलाई कटुता समाप्त गरेर एक आपसमा खुशी साट्ने दिनका रूपमा लिइन्छ ।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको बताइन्छ । होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ ।
काठमाडौं उपत्यकामा फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर (विशेषरूपले सजाएको लिंगो) गाडेपछि फागुपर्व शुरू हुन्छ । पूर्णिमाको रातमा चीर ढालेर जलाएपछि समाप्त भएपछि सकिन्छ । तराई–मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ ।
फागुपर्वका अवसरमा सरकारले पहाडी जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ ।