बुटवल । बुटवलमा जारी मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिन आज सात खेल सम्पन्न भएको छ ।
बुटवलको तामनगर स्थित चारपाला खेल मैदानमा आज भएको पहिलो खेलमा नवरत्न माविले सिद्वेश्वरी माविलाई २–१ गोल अन्तरले हराएको छ । बुटवल ग्लोरी स्कुल र सरस्वती मावि बीच भएको अर्को खेलमा सरस्वती मावि २–० ले बिजयी भएको छ ।
त्यस्तै आजै भएको उजिरसिं मावि र स्कलर्स होम स्कुल बीचको खेलमा ३–० ले स्कलर्स होम बिजयी भएको छ भने कान्ति माविले कालिका मानवज्ञान माविलाई १–० ले हराएको छ ।
चारपाला खेलमैदानमा आजै भएको छात्रा तर्फको खेलमा नविन औद्योगिक माविले प्रगति माविलाई २–० ले हराएको प्रतियोगिताका खेल कमिसार हरिप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै आज जवई खेलमैदानमा भएको नहरपुर मावि÷अक्सफोर्ड माविबीचको खेलमा नहरपुरको एक आत्मघाती गोलसहित टाईब्रेकरमा अक्सफोर्ड ७–० ले बिजयी भयो भने प्रगति मावि ÷ रम्भादेवी माविबीचको खेलमा ४–३ ले प्रगति मावि विजयी भएको प्रतियोगिताका रेफ्रि सेरजंग गुरूङले जानकारी दिनुभयो ।
त्यस्तै जवई खेलमैदानै भएको छात्रा तर्फ कान्ति मावि र नहरपुर माविबीचको खेलमा १–० अन्तरले कान्ति मावि विजयी भयो भने क्यानन स्कुल र ज्ञानोदय माविबीचको प्रतिस्पर्धामा १–० ले ज्ञानोदय विजयी भयो । छात्रा तर्फ कालिका माविले अक्सफोर्ड माविलाई ४–० ले हराएको छ ।
प्रतियोगिता अन्तर्गत भोली बुधबार चालपाला खेलमैदानमा नवरत्न मावि÷नविन औद्योगिक मावि तथा सरस्वती मावि ÷त्रिभुवन युनाइटेडबीच प्रतिस्पर्धा हुने नगर खेलकुद विकास समिति प्रचारप्रसार संयोजक सुनिता गिरीले जानकारी दिनुभयो ।
बुधबार नै जवई खेलमैदानमा नयाँगाउँ मावि÷ सरस्वती आधारभूत विद्यालय,ज्ञानोदय मावि ÷ मोतिपुर मावि तथा प्रगति मावि ÷ न्यु होराइजनबीच प्रतिस्पर्धा हुने नगर खेलकुद बिकास समितिका अध्यक्ष बोनिम पियाले बताउनुभयो ।
प्रतियोगितामा छात्रतर्फ २५ टिम र छात्रातर्फ १० टिमको सहभागिता रहेको नगर खेलकुद बिकास समितिका अध्यक्ष पियाले बताउनुभयो । प्रतियोगिताको सोमबार चारपाला खेलमैदानमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभएको थियो ।