भैरहवा । जिल्ला अदालत रुपन्देहीको बिभिन्न मितिको फैसला बमोजिम बिभिन्न मुद्धामा कैद तथा सजाय भई हाल सम्म फरार भएका १२ जना फरार अभियुक्तलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मातहतका बिभिन्न प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले २०७० साल चैत ११ गतेको फैसला बमोजिम कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त कोटहीमाई गाउँपालिका वडा नं. २ बस्ने साधु तिवारी र जोगी तिवारीलाई पक्राउ गरेको हो ।
यस्तै २०६८ साल असार १९ गतेको फैसला बमोजिम कुटपिट मुद्धाका फरार अभियुक्त कोटहीमाई गाउँपालिका वडा नं. २ बस्ने फौजदार मुसलमान र रामजित लोध पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय वुटवलबाट खटिएको प्रहरी टोलीले २०७२ साल चैत १८ गतेको फैसला बमोजिम सार्वजनिक अपराध मुद्धामा रु २८५०।– जरिवाना फैसला भई हालसम्म फरार रहेका फरार अभियुक्त बुटवल उप–महानगरपालिका वडा नं. ४ बस्ने साजन थापा र युवराज थापालाई पक्राउ गरेको छ ।
यस्तै कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त बुटवल उप–महानगरपालिका वडा नं. १ बस्ने शिवलाल बि.क. र राजेन्द्र अमात्यलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले २०७० साल पुस २१ गतेको फैसला बमोजिम भ्रष्टाचार मुद्धामा ६ दिन कैद र १० हजार जरिवाना फैसला भई हालसम्म फरार रहेका अभियुक्त लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ९ बस्ने नागेन्द्र प्रसाद तिवारीलाई पक्राउ गरेको छ ।
यसैगरी वडा प्रहरी कार्यालय वुटवलबाट खटिएको प्रहरी टोलीले २०७३ साल मंसिर २ गतेको फैसला बमोजिम लागु औषध मुद्धामा २८ दिन कैद सजाय भई हालसम्म फरार रहेका अभियुक्त बुटवल उप–महानगरपालिका वडा नं. ७ बस्ने सन्तोष राना र सन्दिप राना तथा सार्वजनिक अपराध मुद्धाका फरार अभियुक्त तिलोत्तमा नगरपालिका वडा नं. ४ बस्ने सुरज गुप्तालाई पक्राउ गरेको छ ।