काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (बुधवार) देखि विधिवत् आरम्भ भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो ।
चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो । सोह्र श्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आस गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा आफ्ना दिवंगत आफन्तको पुण्यतिथिमा चोखोनितो गरी महालय श्राद्ध गरि तर्पण र पिण्ड दान दिईन्छ । यसरी तर्पण दिनाले पितृले आफ्ना सन्ततिहरुलाई ऋणमुक्त गरिदिने, पितृहरुप्रतिको दायित्वबोध गराउने र चित्त शुद्ध गराउने धार्मिक मान्यता रहँदै आएको छ । दशैं र तिहार जस्ता ठुलाचाडपर्वमा अन्य देवतालाई सम्झनुअघि पितृहरुलाई खुशी पार्नु पर्ने परम्परा अनुसार सनातन हिन्दु धर्मावलम्बीबीच सोह्र श्राद्धको महत्व रहेको हो ।
हिन्दु धर्मशास्त्रमा जिवात्माहरुको ८४ लाख जुनी हुने दाबी गरिएको छ । ति जुनिहरु मध्ये सर्वोत््कृष्ट नै मानव जीवन हो । मानव जीवन उन्नत भएकै कारण मृत्यू भईसकेका जन्मदिने आमाबाबु तथा तिनपुस्ते दाजुभाई र मावली सहित समस्त पितृहरुलाई सम्झिएर तर्पण दिएर पितृ कर्तव्य पुरा गरिन्छ ।
जोतिषशास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्णपक्षलाई पितृ पक्ष मानिएको छ । पितृहरुका लागि वर्षको दुई पटक श्राद्ध (पिण्डदान) गरिन्छ । जस अनुसार आश्विन कृष्णपक्ष पितृपक्षमा पर्ने तिथिका दिनमा तीन पुस्तासम्मका पितृ, मावलीतर्फ र फूपुहरुलाई समेत गरिने श्राद्धलाई महालय भनिन्छ भने एउटामात्र पितृकालागि गरिने श्राद्धलाई एकोतिष्ट श्राद्ध भनिन्छ । आश्विन कृष्णपक्ष प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदा मातामह श्राद्धसम्म सोह्र दिन हुने भएकोले पनि सोह्रश्राद्ध भनिएको हो । पर्व अर्थात औंसीमा गरिने श्राद्ध भएकाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । पितृपक्षमा श्राद्ध गर्ने व्यक्तिले कपाल, नङ आदि काटेर सफा शुद्ध भई नित्य स्नान गरी सात्विक भोजन गर्दछन् । यस्तो समयमा देवकार्य र देवस्थलमा दर्शन गर्न नहुने परम्परा रहेको छ । पार्वण श्राद्ध अपरान्हमा गर्नु भनि शास्त्रहरुले निर्देश गरेको पाइन्छ ।
पुराणमा उल्लेख भए अनुसार मानिस देवऋण, ऋषिऋण र पितृऋणले बाँधिएका हुन्छन् । तर भक्तिपूर्ण श्राद्धकर्म सकेपछि मात्रै पितृ ऋणबाट मुक्ति पाइने विश्वास छ । पितृ रिसाएका खण्डमा देवकर्मबाट प्राप्त फलसमेत हरण हुन्छ भन्ने धार्मिक मान्यता छ । सोह्र श्राद्धको अन्तिम दिनलाई पितृविसर्जन गर्ने दिन भनिन्छ । सोह्रश्राद्ध सकिए लगत्तै नेपालीहरुको महान चाड बडादसैं सुरु हुन्छ ।