काठमाडौं । आश्विन संक्रान्तिका दिन आज विश्वकर्मा पूजा भगवान विश्वकर्माको पूजा गरेर मनाइँदैछ । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा एकैसाथ मनाइरहेका छन् ।
प्रत्येक वर्ष आश्विन संक्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ ।
आज पूजा गरिएका मूर्ति तथा तस्वीर बुधबारदेखि नदीमा लगेर सेलाइन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रमन्थनमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।