बुटवल । बुटवल बहुमुखी क्याम्पसले बि.ए.एल.एल.बि. कक्षा सञ्चालन गर्ने भएको छ । बुटवल बहुमुखी क्याम्पसले त्रिभूवन विश्व विद्यालयले तयार गरेको नयाँ पाठ्यक्रम बि.ए.एल.एल.बि. यहि शैक्षिक सत्रदेखि सञ्चालन गर्ने तयारी गरेको हो ।
५ वर्षे बि.ए.एल.एल.बि. जुनसुकै विषयमा प्लस टु पुरा गरेका विद्यार्थीले पढ्न पाउने छन् । यो त्रिभूवन विश्वविद्यालयले तयार गरेको स्वायत्त कार्यक्रम हो । यो स्वायत्त कार्यक्रम भएकाले अरु स्वायत्त कार्यक्रम सरहको शुल्क लाग्ने कानुन संकायका कार्यक्रम संयोजक जीवनारायण अधिकारीले जानकारी गराउनु भयो । संयोजक अधिकारीका अनुसार बुटवल बहुमुखी क्याम्पसले सञ्चालन गरेका अन्य स्वायत्त कार्यक्रमको पुरा अवधिको शुल्क ५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
बि.ए.एल.एल.बि. कार्यक्रमको कक्षा सञ्चालनको लागि त्रिभूवन विश्वविद्यालयले निर्णय गरेर कति विद्यार्थी पढाउने भन्ने विषयमा कोटा निर्धारण गर्नेछ ।
नेपाल ल क्याम्पसका प्राध्यापक तथा सम्भाव्यता अध्ययन समितिका सदस्य केशरमणी अर्यालका अनुसार बुटवल बहुमुखी क्याम्पसमा २ वटा सेक्सन सञ्चालन गर्न सकिनेछ । जसअनुसार एउटा सेक्सनमा ३५ जना विद्यार्थीले अध्ययन गर्न सक्नेछन् ।
अहिले बुटवल बहुमुखी क्याम्पसमा कानुन संकायतर्फ स्नातक पछिको एल.एल.बि. कार्यक्रम सञ्चालनमा छ । १० हजार बढी विद्यार्थी संख्या रहेको बुटवल बहुमुखी क्याम्पसमा बि.ए.एल.एल.बि. कार्यक्रम सञ्चालन गर्न राम्रो सम्भावना रहेको क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपानेले बताउनु भयो ।
यस विषयमा शुक्रबार त्रिभूवन विश्वविद्यालयबाट आएको सम्भाव्यता अध्ययन टोलीसंग क्याम्पसमा अन्तरसंवाद गरिएको थियो । अन्सरसम्वादमा बोल्दै त्रिभूवन विश्व विद्यालयका सहायक डिन डा. विनोद बस्यालले यो कार्यक्रम सञ्चालनको लागि आवश्यक कक्षा–कोठा, प्रयाप्त कानुनका जनशक्ति, ल्याव (डमी इजलास), लाईवे्ररी, कम्प्युटर ल्याव लगायतका त्रि.वि.ले निर्धारण गरेका सर्तहरु पुरा गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो–‘यो कार्यक्रम एकदमै अपडेट र अन्तर्राष्ट्रिय स्तरको भएकाले विषय एकदमै राम्रो छ ।’
यो कार्यक्रम अहिले त्रि.वि. अन्तरगतका नेपाल ल क्याम्पस र पृथ्वीनारायण क्याम्पस पोखरामा सञ्चालन गरिएको छ । बुटवलबाट राजधानी सरेपनि प्रदेशको केन्द्र बुटवल नै हो । बुटवल आर्थिक राजधानी पनि भएको र उच्च अदालत पनि बुटवलमा रहेकाले आवश्यक जनशक्तिको परिपूर्तिको लागि पनि यो कार्यक्रम आवश्यक रहेको प्राध्यापक नुरजंग केसी बताउनुहुन्छ ।
त्यस्तै नेपाल बार काउन्सिलका काउन्सिलर अधिवक्ता बाबुराम पाण्डेले यो विषय यस क्षेत्रको लागि अति आवश्यक भएको बताउँदै कार्यक्रम सञ्चालन गर्न सकियो भने यहाँको आवश्यकता पुरा गर्न सकिने भएकाले त्यसमा सबैको साथ सहयोग रहने बताउनु भयो । कार्यक्रममा क्याम्पसका पूर्वक्याम्पस प्रमुख, विभागीय प्रमुख, स्ववियु सभापति लगायत प्राध्यापकहरुको सहभागिता रहेको थियो ।