जनताको चाहना र माग अनुसार काम गर्न निर्वाचित जनप्रतिनिधिलाई सुझाव
बुटवल, ८ जेठ । पाँच दलीय गठबन्धनले बुुटवलमा मेयर सहित बहुमत वडा जितेको छ । मेयर सहित बहुमत वडा जितेको खुसियालीमा गठबन्धनले बुटवलमा विजय ¥याली निकाल्यो ।
बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय फराकिलो मतान्तरसहित बिजयी भएका हुन् । पाण्डेयको यो जितसंगै बुटवलको नेतृत्वमा २५ वर्षपछि कांग्रेसले पुनरागमन गरेको छ । बुटवलमा २०५४ सालयताका सबैजसो चुनावमा नेकपा एमालेले जित्दै आएको थियो ।
२०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेले यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३३ मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ३० हजार १३० मत पाएर निर्वाचित हुँदा एमालेका भट्टराईले २२ हजार ५९७ मत पाएका छन् । नेपाली कांग्रेसका बुटवल नगरसभापति समेत रहेका पाण्डेयलाई सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।
उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्याल निर्वाचित भएकी छन् । एकीकृत समाजवादीका चिनबहादुर गुरुङलाई सात हजार ९२२ मतले पराजित गर्दै अर्याल निर्वाचित भएकी हुन् । अर्यालले २४ हजार ९०४ मत पाएर निर्वाचित हुँदा गुरुङले १६ हजार ९८० मत पाएका छन् ।
मेयरमा निर्वाचित खेलराज पाण्डेयलाई बाजागाजा सहित मुख्य बजार क्षेत्र घुमाएर विजय ¥याली निकालिएको हो । ¥यालीको समापन र धन्यवाद सभा सिद्धेश्वरी माविको मैदानमा भएको थियो ।
बुटवलमा ¥याली पछि आयोजित सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले नेकपा एमालेको झुटा सपना तुहिएको बताए । उनले विकासको नाममा नेताको स्वार्थपुर्ति गर्ने, पैसा कमाउने प्रवृत्ति विकास भएको भन्दै जनताको चाहना र माग अनुसार काम गर्न निर्वाचित मेयरलाई सुझाव दिए ।
उपप्रमुखमा महिला उम्मेदवार नहुंदा गठबन्धनले धेरै ठाउंमा उपमेयरमा हारेको औंल्याउंदै उनले अब एमालेको हरेक कुरामा बृद्धभत्ताको सुवारटाईको समय सकिएको र अब देश किकास र परिवर्तनमा गएको बताए ।
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुनले जनतालाई केन्द्रमा राखेर पाँच दलबीच छलफल गरेर अघि बढ्न नेतृत्वलाई सुझाव दिए । उनले ५ दलीय गठबन्धनलाई प्रदेश सभा र प्रतिनिधिसभा चुनावसम्म बलियो बनाएर लैजानुपर्नेमा जोड दिए ।
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बुटवलका मतदाताले प्रतिगमनको विपक्षमा र परिवर्तनको पक्षमा मत जाहेर गरेर नयां इतिहास रचेको बताए । बुटवललाई सुशासनको नमूना बनाउन जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने नेता बरालले सुझाव दिए ।
नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले बुटवलको स्थानीय चुनावको नतिजाले एमालेको अहंकार र दम्भको पहाडलाई भत्काइदिएको टिप्पणि गरे ।
सभामा माओवादी केन्द्रका वामदेव क्षेत्री, राष्ट्रिय जनमोर्चाका टानबहादुर केसी, जनता समाजवादी पार्टीका बामदेव भुसाल, माओवादी केन्द्रका महेन्द्र भुसाल, निर्वाचन परिचालन समिति संयोजक रामबहादुर कार्की लगायतले चुनावी संकल्प पत्र अनुसार काम गर्ने प्रतिवद्धता जनाएका थिए ।
बुटवलका १९ वडा मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नं १०, ११, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।