भैरहवा, ४ जेठ । विश्वमा अहिलेसम्म एक हजार १ सय २१ सम्पदा विश्व सम्पदा सूचिमा सूचिकृत भएका छन् । नेपालले १९७२ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को विश्व सम्पदा महासन्धिमा हस्ताक्षर गरेको थियो । त्यसयता काठमाडौँ उपत्यका र लुम्बिनी गरेर जम्मा दुई स्थान मात्रै विश्व सम्पदा सूचिमा सूचिकृत छन् ।
अहिले कपिलवस्तुको तिलौराकोटलाई पनि संरक्षित स्मारक क्षेत्र घोषणा गरेपश्चात कुदान, गोटिहवा, निग्लीहवा, अरौराकोट, सगरहवा र सिसनियालाई पनि संरक्षित स्मारक क्षेत्र घोषणा गरी प्राचीन शाक्यहरूको राजधानी कपिलवस्तुलाई विश्व सम्पदा सूचिमा राख्ने योजना पुरातत्व विभागले बनाएको छ । सन् १९९७ मा तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न युनेस्कोमा पहलको शुरुआत गरिएको तर २४ वर्षपछि ठोसरूपमा कदम चालिएको छ ।
तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्ने विषयमा जेठ ३ र ४ गते गरी दुई दिने छलफल तथा गोष्ठी लुम्बिनीमा चलेको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय्यको अध्यक्षतामा भएको गोष्ठी तिलौराकोट, कपिलवस्तु प्राचिन सहर विषयमा पुरातत्वविद् रबिन कनिङ्ग हमले कार्यपत्र प्रस्तुत गरेका थिए ।
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको अध्यक्षतामा सम्मन्न गोष्ठिमा तिलौराकोट कपिलवस्तुको जग्गाको अवस्था विषयमा युकिन निसिमुरा र टेकुफुमी कुरस ले तयार पारेको कार्यपत्र काइवाइजले प्रस्तुत गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेस श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पुरातत्वविद् बसन्त बिडारीले तिलौराकोट कपिलवस्तुको ऐतिहासिक परिचय र क्रिस्टोपु कपरले १४ औं शताब्दि अगाडिको कपिलवस्तु तिलौराकोट विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा इनु प्रधान सालिकले विपत हिजो र आज विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने हरि राईले कपिलवस्तु तिलौराकोट धार्मिक पर्यटनको अवस्था विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
पुरातत्व विभागले गरेको यो कार्यपत्रले अब छिट्टै नै तिलौराकोट विश्व सम्पदा सुचिमा सुचिकृत हुने भएको छ ।