रुपन्देही, २२ वैशाख । पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष बिष्णु पौडेलले आर्थिक, भौतिक र मानविय दृष्टिले बुटवल मुलुककै केन्द्र बन्ने बताउनुभएको छ ।
नेकपा एमाले उद्योगी व्यवसायी निर्वाचन परिचालन कमिटीद्धारा विहीबार बुटवलमा आयोजित उद्योगी व्यवसायीको भेलालाई सम्बोधन गर्दै उहाँले सञ्चालनमा रहेका योजना मात्रै पुरा हुँदा बुटवलले नयाँ उचाई हासिल गर्ने उल्लेख गर्नुभयो ।
“भौतिक र मानवीय बिकासमा रुपन्देही निकै अगाडी छ । अरु ठाउँले यहाँबाट सिक्नुपर्छ । अब यहाँ धेरै गर्नुपर्ने केही छैन, शुरु भएका आयोजना सम्पन्न भएमात्र पुग्छ”—उहाँले भन्नुभयो ।
‘बर्तमान सरकार र केही विरोधीहरुले बुटवलमा भइरहेका विकासका आयोजनाहरु रोक्ने,पुरा हुन नदिने र विष्णु पौडेललाई असहयोग गर्ने षडयन्त्र गरिरहेका छन्,हामी त्यस्ता षडयन्त्रकाहरुरीलाई परास्त गर्छाैं’—उहांले भन्नुभयो ।
आफुहरु सरकारमा नरहंदा तत्कालिन सरकारले शुरु गरेका दर्जनौं पूर्वाधारहरुको निर्माण रोकिने र अलपत्र पर्ने खतरा बढेको उहांले बताउनुभयो । त्यसका लागि बुटवलवासीले दबाद सिर्जना गर्नुपर्ने बताउनुभयो ।
सरकारमा अर्थमन्त्री भएका बेला निजी क्षेत्र उत्साहित हुने खालको बजेट ल्याएको स्मरण गर्दै उहाँले कोभिड महामारिका बेला पनि अर्थतन्त्र कमजोर हुन नदिएको बताउनुभयो ।
“हामीले बजेट ल्याउँदा सारा उद्योगी व्यवसायीले प्रशंसा गरे । संस्थागत रुपमा त्यो तहको समर्थन बिरलै प्राप्त हुन्छ । बजेट अहिले पनि आयो तर जताततै बिरोध भयो”,— उहाँँले भन्नुभयो ।
नेपालको महंगी डबल डिजीटमा पुग्न लागेको जनाउँदै उहाँले महंगी घटाउन र अर्थव्यवस्था सुधार गर्न एमालेलाई मत दिन उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।
अर्थतन्त्रलाई अगाडी बढाउन सरकार, सहकारी र निजीक्षेत्र बिच समन्वय हुनुपर्ने बताउँदै निजी क्षेत्र अनुकुलको वातावरण बनाउन एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभयो ।
भेलामा बुटवल उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईले बुटवललाई आर्थिक राजधानीको रुपमा विकास गर्ने बताउनुभयो । “हरेक काममा जनताको साथमा हुनेछौँ, तपाइँहरुको शिर झुक्ने गरी काम गर्ने छैनौं”, भन्नुभयो । अहिले राजनीतिक दलप्रति आम नागरिकको वितृष्णा बढेको जनाउँदै यस्तो अवस्थाको अन्त्य हुने गरी जनताको मन बुझेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
भेलामा उपप्रमुखका उम्मेदवार सावित्रा अर्यालले उद्योगी व्यवसायीको हितमा काम गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
नेकपा एमाले उद्योगी व्यवसायी निर्वाचन परिचालन कमिटिका संयोजक बाबुराम बोहोराले एमाले उम्मेदवारलाई उद्योगी व्यवसायीले सहयोग गर्ने बताउनु भयो ।