बुटवल ३ असौज
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित गर्दै अघि बढिरहेको बताउनु भएको छ
संबिधान दिवसको अवसरमा शनिवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको बलियो जगको माध्यमद्वारा राष्ट्रिय एकता र अखण्डता कायम गर्न, आपसी सद्भाव बढाउन, दीगो शान्ति, सुशासन तथा समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना समेत गर्नु भएको छ ।
नेपाली जनताले लामो समयदेखि गर्दै आएको एकताबद्ध संघर्षबाट वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भई नागरिकले शासन व्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीे निर्माण गर्न सम्भव भएको भन्दै शुभकामना सन्देशमा नयाँ संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको उल्लेख छ ।
संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता,समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी संविधानले सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको भन्दै मुख्यमन्त्री पोखरेलल राष्ट्रिय एकताको जगमा नै मुलुकको विकास र समृद्धिको गतिशील यात्रा संभव रहेको बताउनु भएको छ् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नागरिकको जीवनपद्धती र शैलीका रुपमा स्थापित गर्न हामी सबैको साझा संकल्प हुनुपर्नेमा जोड दिदै मुख्यमन्त्री पोखरेलले कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा संविधान स्थापित भएको बिचार व्यक्त गरेका छन् ।
यतिबेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण चरणमा छौं भन्दै उनले संविधान कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिप्रतिको आकांक्षा पूरा गर्न हामी दृढसंकल्पित रहेको जनाएका छन् ।
लामो लकडाउन र निषेधाज्ञापछि क्रमशः स्वास्थ्य सुरक्षा सर्तकता र मापदण्ड पालना गरी समाजका विभिन्न क्षेत्र खुला हुँदै गएको भन्दै मुख्यमन्त्री पोखरेलले लकडाउन र निधेषाज्ञा नभई खुला हुँदै जानुको अर्थ कोभिड—१९ नियन्त्रण भएको बुझ्नु नहुनेमा जोड दिनु भएको छ ।
कोरोनासंग जुध्दै हाम्रो दैनिकीलाई नियमित गर्न र गराउन अझ उच्च सतर्कता आवश्यक रहेको भन्दै उहाँले कोभिड—१९ को जोखिमबाट नागरिकलाई जोगाउन तहगत सरकारहरुले चालेका कदमप्रति नागरिकको सार्थक सहयोगबाट मात्रै यो माहामारीलाई जित्न सकिने शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।