बुटवल २९ भदौ
रुपन्देहीको कञ्चन गाउपालिका क्षेत्रमा हरियो सालको काठ चोरी निकासी व्यापक रुपमा हुने गरेको छ । कोरोना संकटले लकडाउन र निषेधाज्ञा जारी रहेको मौका छोपी चोरहरुले काठ चोरीलाई वढावा दिएका छन । स्थानियहरुको पहलमा रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन ४,गरगरेले ८७.९६ क्युफिट बराबरको हरियो सालको गोलिया बरामद गरेको छ ।
कञ्चन गाउपालिका वडा नं. २ स्थित कुत्ता गाउको खेतको बिचमा रहेको वरीपरी झाडीले घेरिएको ठूलो पिपलको रुखको फेदमा बेवारिसे रुपमा लुकाई राखेको सालको गोलिया बरामद भएको रुद्रपुर सामुदायिक बन उपभोक्त समूहका अध्यक्ष नाम बहादुर के.सी.ले जानकारी दिनु भएको छ ।
गएराती कञ्चन गाउपालिका वार्ड नं. ४,कञ्चन टोलका स्थानियहरुको सक्रियतामा गस्ती गरिरहेको बेला मोटर साइकलमा ओसारपसार गर्दै गरेको अवस्थामा काठ तस्करहरुले मोटर साइकल छोडेर भागेको र मोटर साइकल छोडेर भागे पछि काठ तस्करहरु नै हुन सक्ने भनि शंकास्पदको आधारमा खोज्दै जादा कञ्चन गाउपालिका वार्ड नं. ४ कञ्चनटोलको खेतमा बेवारिसे रुपमा करिब ९ क्युफिट बराबरको हरियो सालको एउटा गोलिया र लु ३३ प ६५५० नं.को एउटा होण्डा शाइन मोटरसाइकल स्थानियहरुले नियन्त्रणमा लिएका थिए ।
रातभर मोटरसाइकल आवत जावत गरिरहेपछि थप सालका गोलियाहरुको तस्करी भएको हुन सक्ने भन्दै कञ्चन टोलका स्थानियहरुले खोज्दै जादा कञ्चनको वडा नं. २ स्थित कुत्ता गाउमा ६७ फुट लम्बाई भएका थप ९ थान करिव ७८ क्युफिटको हरियो सालको गोलियाहरु बरामद गरी स्थानियहरुले रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन४,गरगरेलाई जानकारी दिएको स्थानिय हरि थापाले बताउनु भएको छ।अहिले ती सालका गोलिया र मोटरसाइकललाई रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन४,गरगरेले नियन्त्रणमा लिएको छ।
यस्तै गत असार २० गते पनि रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन४,गरगरेले कञ्चन गाउपालिका वार्ड नं. ३ स्थित जिग्नियामा बस्ने इन्दैजित बि.क.ले संचालन गरेको फर्निचर उधोगमा करिव २८ क्युफिट बराबरको ५ थान सालका गोलिया नियन्त्रणमा लिई आवस्यक कार्वाहीका लागि कञ्चनका राजनैतिक दल र स्थानिय अगुवाहरु सहित छलफलमा राजनैतिक दलका प्रतिनीधि र स्थानिय अगुवाहरुले नै निजको गल्ती पहिलो भएको र आगामी दिनमा सो कार्य दोहोर्याए आवस्यक कार्वाही गर्नु पर्ने भन्दै गैर कानुनी रुपमा फर्निचरमा राखिएको काठ बरामद गरिए पनि कार्वाही गर्न गराउनमा कुनै पहल नभएको रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन४,गरगरेका पदाधिकारी सदस्यले जानकारी दिएका छन ।
बरामद गरिएका ती सालका गोलियाहरु रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन४,गरगरेको बन क्षेत्र अन्तर्गत कपिलबस्तु र रुपन्देहीको सिमा कोठी नदी ब्लक क्षेत्रबाट काठ तस्करहरुले कञ्चनको लुम्बिनी फायरलाइन सडक अन्तर्गत देउरालीको बाटो हुदै कञ्चन ४ को दियो,ढावा र अस्नैयाको कञ्चन टोल स्थित भैरमघाट पुल हुदै गजेडी तर्फ तस्कर भैरहेको अवस्थामा बरामद गर्न सफल भएको गस्ती टोलीका सदस्य स्थानिय मन बहादुर सिंजालीले बताउनु भयो ।