बुटवल १६ भदौ
समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको सैनामैना नगरपालिकाले सोह्र श्राद्ध अर्थात् पितृपूजन वैकल्पिक विधिबाट गर्न नगरवासीमा आग्रह गरेको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोह्र श्राद्ध वैकल्पिक विधि ( भर्चुअल अनलाइन) माध्यमबाट गर्न र गराउन नगरपालिकाले नगरवासीमा आग्रह गरेको हो ।
मंगलबार सैनामैनाको मुर्गियामा नगरमा रहेका पण्डितहरुसँग गरिएको छलफलले यस वर्ष यजमानको घर–घरमा गएर श्रोह्रश्राद्ध नर्गेने निर्णय भएकोे सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँले यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम रहेको विषम परिस्थितिमा वैकल्पिक तरिकाले अनलाईन,फोन वा अन्य विधि अपनाएर परिवारका सदस्यहरुका बिचमा मात्र सोह्र श्राद्ध गर्न आग्रह गर्नुभयो ।
सोह्र श्राद्ध कार्यमा आफन्त, छरछिमेकी, इष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नगर्न नगरपालिकाले अनुरोध गरेको छ ।यस अघि तिलोत्तमा नगरपालिकाले पनि सुचना जारी गरि सोह्र श्राद्ध (भर्चुअल अनलाइन) माध्यमबाट गर्न नगरवासीमा आह्वान गरको थियो ।
बुधवारबाट शुरु हुन लागेको सोह्र श्राद्धमा घर घरमा पण्डित बोलाएर पितृ पक्षलाई तर्पण दिने चलन रहिआएको छ ।