बुटवल, १ साउन । विना गल्ती चालकलाई कारागार चलान गरिएको भन्दै यस क्षेत्रका यातायात मजदुरहरू आन्दोलित भएका छन् । गएको असार २ गते काठमाडौंदेखि गुल्मीको तम्घासका लागि छुटेको लु १ ख ८३२६ नम्बरको बसले नवलपुरको गैडाकोटमा विपरित गलत दिशाबाट अनियन्त्रित गतिमा आएको मोटरसाइकल बसमा ठोक्किन पुगेको थियो । मोटरसाइकको पछाडि बसेका नवलपुर बुलिङटार गाउँपालिका–३ का विरेन्द्रनन्द गिरीको मृत्यु भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक निर्मल गिरी गम्भीर घाइते भएका छन् ।
उक्त घटनामा गाडी चालक रामबहादुर श्रेष्ठलाई कुनै दोष नहुँदा÷नहुँदै शक्तिकेन्द्रको आडमा गाडी चालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको भन्दै यस क्षेत्रका सबै मजदुर संगठनहरूले घटनामा चालकको कुनै दोष नभएको भन्दै तत्काल रिहाईको माग गरेका छन् ।
यस क्षेत्रका यातायात मजदुरहरूले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी सात दिनभित्र आफूहरूका माग पूरा नभए कडा संघर्षका कार्यक्रमहरू ल्याउने बताएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश नम्बर पाँचका अध्यक्ष कृष्णप्रसाद कँडेलले दुर्घटनाको बैज्ञानिक छानविन गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गर्नुभयो ।
पश्चिम नेपाल बस व्यसायी प्रा लि का अध्यक्ष दधिराम खरेलले कानूनलाई हातमा लिएर चालकलाई दोषी देखाइएको बताउनुभयो । उहांले मजदुरको आन्दोलनमा प्रा लि सधै साथमा रहेको स्पष्ट पार्नुभयो । अखिल नेपाल यातायात मजदुर संगठन प्रदेश पाँचका सहसचिव डम्बर बुढाथोकीले मोटरसाइकलका चालक नै घटनामा दोषी रहेको बताउनुभयो ।
मजदुरहरूले विभिन्न संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेका छन् । जिल्ला प्रशासन कार्यालय नवलपुरमा घटनाको जानकारी गराउने, महान्याधिवक्ताको कार्यालयमा जानकारी गराउने, सबै प्रदेश सरकार तथा संघीय सरकारको ध्यानाकर्षण गराउने र सात दिनभित्र श्रेष्ठको रिहाई नभए कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने कंडेलले जानकारी गराउनुभयो ।