बुटवल, २ फागुन । राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको आज शुक्रवार निधन भएको छ । नेपाली काँग्रेस रुपन्देहीका नेता समेत रहनुभएका उपाध्याय क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।
२०७४ मा राष्ट्रियसभा सदस्यमा निर्बाचित हुनुभएका रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नंं. १० निवासी उपाध्यायको ५० वर्षको उमेरमा क्यान्सर रोगका कारण आज विहान आफ्नै निवासमा निधन भएको हो । उपाध्यायलाई चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारपछि घर फर्काइएको थियो । उपाध्यायका श्रीमती, तीन छोरा र दुई छोरी छन् ।
बुबा जंगिप्रसाद उपाध्याय र आमा सोनमती उपाध्यायका कोखबाट २०२६ सालमा जन्मिनुभएका उपाध्याय नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ५ को दुई कार्यकाल क्षेत्रीय सभापति बन्नुभएको थियो ।
२०४६ देखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिएरुपमा लाग्नुभएका नेता उपाध्याय साबिक मधुवनी गाबिसको उपाध्यक्ष समेत बन्नुभएको थियो भने हाल उहांको पार्टीको महाधिबेशन प्रतिनिधि हुनुहुन्थ्यो ।
पार्टीका इमान्दार नेता उपाध्यायको आजै अन्तिम संस्कार गरिने प्रदेशसभा सदस्य तथा काँग्रेस नेता फकरुद्धिन खांनले जानकारी दिनुभयो ।
उपाध्यायको निधन प्रति नेपाली काँग्रेसले दुख ब्यक्त गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्य उपाध्यायको निधनप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
सामाजिक संजाल फेसबुक मार्फत सभापति देउवाले काँग्रेस नेता तथा राष्ट्रियसभा सदस्य उपाध्यायको निधनले आफुलाई अत्यन्त दुख लागेको जनाउदै दुखको घडिमा स्वर्गीय उपाध्यायको आत्माको चिर शान्तिको कामना सहित परिवारजनमा समबेदना प्रकट गर्नुभएको छ ।
यस्तै नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले पनि उपाध्यायको निधनले पार्टीलाई अपुरणिय क्षति पुगेको वताउनु भयो ।