कावासोती, १ फागुन । नेकपा क्रान्तिकारी माओवादी नवलुरले विहीबार पूर्वी नवलपरासीको दलदले र चोरमारामा जनयुद्ध दिवस मनाएको छ । क्रान्तिकारी माओवादीले प्रहरीको बाक्लो सुरक्षा घेराका बीच जनयुद्ध दिवस मनाएको हो ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य अशोक लम्साल अनुकुल, क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठ, नेकपा क्रान्तिकारी माओवादी नवलपुरका जिल्ला इन्चार्ज उत्तम थापा, देशभक्त जन गणतान्त्रिक मोर्चा नेपाल नवलपुरका अध्यक्ष पिताम्बर तिवारी, महिला संघ नवलपुरका अध्यक्ष गीता पाण्डे लगायतले जनयुद्धको आवश्यक्ता र बर्तमान राजनीतिक परिवेशका बारेमा धारणा राख्नु भएको थियो ।
मेघा पार्क रिसोर्टमा माओवादीको झण्डा

नेकपा क्रान्तिकारी माओवादीले नवलपुरको देवचुली नगरपालिकामा रहेको मेघा पार्क रिसोर्टमा झण्डा गाडेको छ । रिसोर्टले सार्वजनिक जग्गा अधिग्रहण गरेको र उक्त जग्गा फिर्ता गर्न आलटाल गरेको भन्दै जग्गामा झण्डा गाडेर पार्टीले कब्जा गरेको नेकपा क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी न्यूजर्सले जानकारी दिनुभयो ।
रिसोर्टले अतिक्रमण गरेको सार्वजिनक जग्गा झण्डा गाडेसंगै आजदेखि आफ्नो पार्टीको नियन्त्रणमा रहेको उहांले बताउनुभयो । क्रान्तिकारी माओवादीले जनयुद्ध दिवसको अवसर पारेर उक्त जग्गामा झण्डा गाडेको हो ।
उक्त जग्गामा बनेको संरचना हटाउन देवचुली नगरपालिकाले पटक पटक पत्राचार गरेको भए पनि पार्कले भने अटेर गर्दै आएको छ ।
मध्यविन्दु ११ मा विवादित जग्गा कब्जा

नेकपा क्रान्तिकारी माओवादीले जनयुद्ध दिवसको अवसर पारेर पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको वडा कार्यालय निर्माणाधिन क्षेत्रको जग्गामा आज झण्डा गाडेको छ ।
क्रान्तिकारी माओवादीले विहीबार दिउँसो एउटा पर्चा टाँगेर बन्दै गरेको वडा कार्यालय भवनमा झण्डा गाडेको हो । क्रान्तिकारी माओवादीले वडा कार्यालय बन्दै गरेको भवनलाई केही भूमाफियाले अधिग्रहण गरेर व्यक्तिको नाममा लैजाने लगायतका तयारी गरेका कारण कब्जा गर्नुपरेको जनाएको छ ।