भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो । उसका लागि कृष्ण कुँवरले ४४, फैजन खाँनले २३, सिद्धार्थ ढकालले १६, गणेश धितालले १४ र विन्दराम यादवले १० रन बनाए । बलिङमा बुटवल–११ का तौसिफ आलमले ५, आकाश अर्यालले २ तथा थानेश्वर भट्टराई र विभेष खातीले १–१ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको बुटवल–११ ले ३४ ओभर २ बलमा सबै विकेट गुमाएर जम्मा ८९ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न बलिङका स्टारका तुलबहादुर थापाले ३, गणेश धिताल र कृष्ण विकले २–२ तथा अनिश भट्टराई र इलजान खानले १–१ विकेट लिए । बुटवल–११ का रोजन रेग्मीले १४, रोहितकुमार पासवानले १३ र विभेष खातीले १० रन बनाए । खेलमा तुलबहादुर थापा प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद एक लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए । प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स, भैरहवा, म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग बाणिज्य संघले प्रायोजन गरेको छन् ।
यस्तै, म्यान अफ द सिरिजको पुरस्कार होटल स्टार होलिडे, बेस्ट व्याटर र बलरको पुरस्कार युवा व्यवसायी रविकुमार रौनियार, उदयीमान खेलाडीको पुरस्कार प्रतीक ट्रेड लिंक र म्याच अवधिभर बलको प्रायोजन व्यवसायी अमित गुप्ताले गरेका छन् । प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागिता छ ।