बुटवल । बुटवल ब्याडमिन्टन क्लबले विजया दशमी, शुभ दीपावली, नेपाल संवत ११४५ तथा छठ पर्वको अवसरमा आपसी एकता र सद्भाव कायम राख्ने उद्देश्यले शुक्रवार आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ।
क्लबका सदस्यहरूबीच पारस्परिक सम्बन्ध सुदृढ बनाउने, आपसी एकता कायम राख्ने उद्देश्यले क्लवले आन्तरिक ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको प्रतियोगिताका संयोजक तथा क्लबका तृतीय उपाध्यक्ष भानु केसिले बताउनुभयो ।
प्रतियोगितामा क्लबका विभिन्न तहगत समूहका खेलाडीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। प्रतियोगिताको उद्घाटन गर्दै क्लबका संस्थापक अध्यक्ष श्याम बहादुर पुनले क्लबले स्थापनाकाल देखि नै आन्तरिक, जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्दै आफ्नो विरासत कायम गर्न सफल भएको बताउनुभयो ।
प्रतियोगिता तीन समूहमा विभाजन गरि सञ्चाल गरिएको थियो जसमा ए लेभल तर्फ शम्भु भट्टराई र मोहन घिमिरेको जोडिले पंकज ज्ञवाली र अमर शाह लाई सोझो सेटमा पराजित गर्दै उपाधि चुम्न सफल भएको छ भने पंकज ज्ञवाली र अमर विक्रम शाहको जोडिले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । यस्तै अशोक प्रधान र मदन कार्की तथा गोपाल टण्डन र जितु रानाको जोडि तृतीय भएको छ ।
यसैगरी बि लेभल तर्फ घनु नेपाल र ऋषि भण्डारीको जोडि प्रथम तथा पिताम्बर ज्ञवाली र बाबुराम पाठकको जोडि दोस्रो हुन सफल भएको छ । बी लेभल मै टिकाराम पन्थी र जिवन अधिकारीको जोडी तथा नलराज नेपाल र युवराज काउचाको जोडिले तेस्रो स्थान प्राप्त गरेको छ ।
सी लेभल तर्फ कृष्ण टण्डन र दिवाकर ज्ञवालीको जोडि प्रथम तथा रमेश थापा र काशि श्रेष्ठको जोडि दोस्रो भएको कार्यक्रम संयोजक भानु केसिले जानकारी गराउनु भयो ।
प्रतियोगितामा सहभागी, आयोजक, प्रायोजक तथा सबै खेलाडी प्रति आभार व्यक्त गर्दै क्लबका अध्यक्ष नलराज नेपालले भविष्यमा अझ व्यापक कार्यक्रमहरू आयोजना गरिने बताउँदै कार्यक्रमले पर्वको रमाइलो माहोललाई खेलकुदसँग जोड्दै, स्वास्थ्य र सौहार्दता प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै विजया दशमी, शुभ दीपावली, नेपाल सवंत र छठ पर्वको शुभकामना व्यक्त गर्नुभयो ।
प्रतियोगितामा गोला प्रथा बाट जोडि निर्धारण गरि प्रतियोगितामा प्रथम भएकोमा खुशी ब्यक्त गर्दै खेलाडीको तर्फबाट ए लेभलका प्रथम खेलाडी शम्भु भट्टराईले आन्तरिक प्रतियोगिता र खेलले खेलाडीमा अनुशासन र स्वस्थ जीवन यापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई ट्रफी, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।