काठमाडौं । मन्त्रिपरिषद्ले विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख ५ गते सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरेकोमा सवै प्रतिस्पर्धीलाई पछि पार्दै हुमागाईं उक्त पदमा पुनः नियुक्त हुनुभएको हो ।
हुमागाईले यसअघि पनि उक्त बोर्डको चार वर्ष नेतृत्व सम्हाली सक्नुभएको छ । आमसञ्चार माध्यम, वाह्य विज्ञापन (होर्डिंङ्ग बोर्ड मार्फत), सामाजिक सञ्जालबाट हुने विज्ञापनका साथै सभा समारोह, चलचित्र घर, मेला महोत्सवमा हुने विज्ञापनको अनुगमन तथा नियमन गर्न सरकारले २०७८ सालमा विज्ञापन बोर्डको गठन गरेको थियो ।
व्यावसायिक कार्य योजना, प्रस्तुतीकरण तथा अन्तरवार्तामा उच्च अंक प्राप्त गर्ने तीनजनाको नाम सिफारिश समितिले मन्त्रिपरिषद्मा पेश गरेको थियो । जसमा सर्वोत्कृष्ट अंक ल्याउन सफल हुमागाईंलाई नियुक्ति गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ्गले जानकारी दिनुभयो ।
यसअघि सार्वजनिक संस्थान निर्देशन बोर्डले लिएको खुल्ला प्रतिस्पर्धामा नेपाल टेलिभिजनको महाप्रबन्धक बन्नुभएका हुमागाईंले २०७७ सालमा विज्ञापन बोर्डको अध्यक्षको लागि भएको प्रतिस्पर्धामा समेत सबै प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्ष नियुक्त हुनुभएको थियो ।
विज्ञापन बोर्डको अध्यक्षको रुपमा २०७७ साल चैत २० गते बोर्डको नेतृत्व सम्हाल्नुभएका हुमागाईंले ४ वर्षमा विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ मा संशोधन गरी सञ्चार माध्यमको विलको आधारमा मात्र विज्ञापन एजेन्सीलाई विज्ञापनको रकम भुक्तानी गर्नु पर्ने ब्यवस्था मिलाउनुभएको थियो । जसका कारण विज्ञापन बजारमा रहेको चुहावट रोक्न उहांले गरेको प्रयास निकै सफल रहेको मानिन्छ ।
हुमागाइले विज्ञापन उत्पादन वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ जारी गरी नेपालमा पहिलो पटक विज्ञापन आचारसंहितालाई कार्यान्वयनमा ल्याउनुभएको थियो । विज्ञापनको नियमनमा तीनै तहको सरकारको सहभागिताका लागि विज्ञापनको प्रदेश निर्देशिका, २०८१ तथा स्थानीय तहको विज्ञापन ऐन, २०८१ को नमुना तयार गरी सातवटै प्रदेश तथा ७ सय ५३ वटै पालिकामा पठाउनुभएको थियो ।
होर्डिंङ्ग बोर्डमार्फत् हुने विज्ञापनमा करिव ३० अर्ब रुपैयाँ राजस्व गुमेको भन्दै हुमागाईंले अघिल्लो कार्यकालमा होर्डिंङ्ग बोर्डमा हुने विज्ञापनको अनुमति तथा राजश्व संकलन स्थानीय तह स्वयमले गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
सञ्चार क्षेत्रमा करिव २७ वर्ष विताउनुभएका हुमागाईंले नेपाल टेलिभिजनको अतिरिक्त, जनता टेलिभिजन तथा ईमेज च्यानलको समेत नेतृत्व गरिसक्नुभएको छ । आमसञ्चार तथा पत्रकारिता र जन प्रशासनमा स्नातकोत्तर, पत्रकारिता तथा आमसञ्चारमा दर्शनाचार्य गर्नुभएका हुमागाइले विज्ञापन नियमनकै विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ ।