दाङ । जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीकी समानुपातिक सांसद गुरुङले जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त हुँदैन भन्ने लागेर राजीनामा दिएको गुरुङको राजिनामा पत्रमा उल्लेख छ ।
‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उहांले राजीनामा पत्रमा लेख्नुभएको छ, ‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजैका मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’
यसबारे जानकारी लिन प्रदेश सभा सदस्य गुरुङको मोबाइल नम्बरमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले भने गुरुङले सभामुखलाई राजीनामा पत्र पठाएको पुष्टि गर्नुभएको छ । आफूले गुरुङको राजीनामा स्वीकृत गर्न सभामुखसँग आग्रह गरेको समेत उहांले जानकारी दिनुभयो ।
जनताले तिरेको करबाट पारिश्रमिक लिन उपयुक्त हुँदैन भन्ने लागेर गुरुङले राजीनामा दिएको जनाइए पनि कारण अर्कै हुनसक्ने बताइएको छ ।