काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा बिजयप्रसाद मिश्रको प्यानलले बाजी मारेको छ । सत्तारूढ नेपाली कांग्रेस–नेकपा एमाले प्यानलबाट अध्यक्षका उम्मेदवार रहेका विजयप्रसाद मिश्रको प्यानलै निर्वाचित भएको हो । गत शनिवार सम्पन्न निर्वाचनको मतगणना बिहिबार सम्पन्न भए पछि बरिष्ठ अधिवक्ता मिश्र प्रतिस्पर्धी उम्मेदवार भन्दा २ हजार ४३१ मतको अन्तरले निर्वाचित हुनुभयो ।
अन्तिम मतपरिणाम अनुसार लोकतान्त्रिक–प्रगतिशील गठबन्धनतर्फबाट अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले ५ हजार ५२ मत प्राप्त गर्नुभएको छ । उहांका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र कानुन व्यवसायीको प्यानल व्यावसायिक कानुन व्यवसायी गठबन्धनका अध्यक्षका उम्मेदवार रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरेको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले जानकारी दिनुभयो ।
यस्तै महासचिव पदमा पनि लोकतान्त्रिक प्रगतिशील गठबन्धनका केदार कोइरालाले ४ हजार ८७४ मत प्राप्त गर्दा व्यावसायिक कानुन व्यवसायीको गठबन्धनका यज्ञमणि न्यौपानेले २ हजार ३६७ मत प्राप्त गर्नुभएको छ ।
सबै पदमा सत्ता पक्षीय नेकपा एमालेनिकट पीपीएलए र नेपाली काङ्ग्रेसनिकट डीएलए गठबन्धनका उम्मेदवार विजयी भएका छन् । देशभर योग्य मतदाता ९ हजार ९९६ रहेकोमा लगभग ८० प्रतिशत ७ हजार ९९५ मत खसेको थियो । बारको २५ सदस्यीय नयाँ कार्यसमितिका लागि अध्यक्षमा पाँचसहित ५७ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

